
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको तेस्रो चरणअन्तर्गत आज दुईवटा खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा संकटा क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । संकटा र मनाङबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
संकटा आज दोस्रो जितको खोजीमा रहेको छ । संकटा २ खेलमा ४ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । मनाङ भने लगातार तेस्रो जितको खोजीमा रहेको छ । अपराजित मनाङ २ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
यस्तै, अपरान्ह पौने पाँच बजे सुरु हुने दोस्रो खेलमा च्यासल युथ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । आज दुवै टिम तीन अंक जोड्ने योजनामा हुने छन् ।
च्यासल दोस्रो जितको खोजीमा हुनेछ । च्यासलले अघिल्ला दुई खेलमा १ जित र एक हार व्यहोरेको छ । च्यासल २ खेलमा ३ अंक जोडेर आठौं स्थानमा रहेको छ । एनआरटीले २ खेलमा १ अंक जोडेको छ । एनआरटी लिगको १२ औं स्थानमा छ ।
यसअघि हिजो भएका खेलमा सातदोबाटो युथ क्लबले एपीएफविरुद्ध ४–१ को जित निकालेको छ । त्यसैगरी अर्को खेलमा थ्री स्टारले फ्रेन्ड्स क्लबसँग बराबरी खेल्दै अंक बाडेको छ । थ्री स्टारले फ्रेन्ड्ससँग १–१ गोलको बराबरी खेलेको हो ।
प्रतिक्रिया दिनुहोस्