
प्रकाश नेपाल
इलाम । महाभारत पर्वतको दाँयाबाँया इलाम र पाँचथरको बासिन्दालाई तराईसँग जोड्ने दमक चिसापानी रवि सडकको कालोपत्रे गर्ने काम सुरु भएको छ ।
दमकदेखि दक्षिणी इलाम र पाँचथर जोडिएको फाल्गुनन्द मार्गको स्तरोन्नत्ति र कालोपत्रे गर्ने काम सुरु भएको हो । संस्थागत रूपमा विसं २०४७ सालमा ट्रयाक खनिएको ४७ किलोमिटर लामो निर्माणाधीन सडकको तीन खण्डमा कालोपत्रको काम अघि बढेको छ ।
सडक डिभिजन कार्यालय, दमकमार्फत हुँदै आएको कामको पहिलो चरणमा ६ दशमलव २९ किलोमिटर कालोपत्रे भइरहेको छ । सडकको पहिलो खण्डको लागत २२ करोड ५९ लाख रहेको छ । महालक्ष्मी र किराँतेश्वर जेभीसँग २०७५ असार २९ मा सम्झौता भएको सो खण्ड आगामी चैत्रसम्ममा पूर्ण रूपमा कालोपत्र हुने भएपछि स्थानीय खुसी छन् ।
दोस्रो खण्डको १५ दशमवल २६ किलोमिटर सडक ५४ करोड ४४ लाख लागतमा लुम्बिनी र गणपति जेभीसँग निर्माणको सम्झौता भएको छ । तेस्रो खण्डको ११ दशमलव ३० किलोमिटर सडक कालोपत्रेका लागि ५९ करोड १५ लाखमा कालोपत्रे हुने सडक डिभिजन दमकले जनाएको छ ।
३४ दशमलव ५ किलोमिटर डिपिआर गरिएको मध्ये २५ किलोमिटर सडक खण्ड कालोपत्रेका लागि काम हुँदै आएको छ । इलामको माङसेबुङदेखि चिसापानीसम्मको २५ किलोमिटर सडकखण्डलाई कालोपत्रे स्तरमा स्तरोन्नत्ति गर्ने काम हुँदै आएको हो । दमक–रवि सडक २०१५ सालमा सर्वे भइ जनस्तरबाटै ट्रयाक खन्न थालिएको थियो ।
प्रतिक्रिया दिनुहोस्