९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


…त्यसपछि राता मान्छेका मुटुहरुले प्रशंसा गर्न थाल्नेछन


13
Shares

-संजिव कार्की 

एक हप्ता अलि अघि पनि प्रधानमन्त्रीले मुटु नभएका सम्पादक पत्रकार र मिडिया हाउस भएको कारण नै सरकारको काम ओझेल परेको गुनासो पोखे । तब पत्रकार सम्पादक र मिडियाकर्मी अनि सामाजिक संजालका बेरोजगार समेतलाई बिजनेस मिल्यो । प्रधानमन्त्री केपी ओलीको पक्ष विपक्षमा मुटुको सवाल र सन्दर्भलाई लिएर व्यापक सवाल जबाफ र दोहोरी चल्यो । दोहोरीमा बेजोड जबाफ चैं मुटु नभएका भनिएका अर्थात प्रधानमन्त्रीको कार्यको प्रशंसा नगर्नेहरुकै तर्फको तार्किक र बौद्दिक अनि सापेक्षित देखियो । आज पनि प्रधानमन्त्री अघिल्लो कार्यकाल अर्थात भारतीय नाकाबन्दी २०७२ ताकाको आफ्नो राष्ट्रवादी चम्किलो छवि र अडान भएको समय दाहिना हुँदा झैँ जनता र प्रेसबाट प्रशंसा अपेक्षा गर्नुहुन्छ । जुन विल्कुल असान्दर्भिक छ ।

दुई तिहाई नजिक जनमत प्राप्त सरकार जुन रफ्तारमा दौडेर जहाँ पुग्नुपर्ने हो त्यहाँ पुग्नु त कल्पनाको कुरा एकतिहाइ बाटोपनि तय गर्न नसकेर अलमलिएर कार्यकालको आधा समय व्यतित भैसक्यो । अरुको मूल्यांकन र प्रोग्रेस रिपोर्ट बैधानिक र वास्तविक नहोला प्रधानमन्त्री आफैंले दिएको नम्बरमा धेरैजना मन्त्री फेल भएर कोही बाहिरिए । कोही जस्ट पासमार्क पाएर बसेका छन् भने कोही ग्रेस्मार्कले पास भएर होइन परीक्षकको आफन्त भएको कारण फेल भएर पनि क्लास चढन पाएको दुरावस्था छ । फालिनु पर्ने राख्नुपर्नेमा र राख्नुपर्ने फालिनुपर्नेमा परेको भनेर गुनासा पनि उलेख्य आए । यद्यपी, केही चै गलाहत्याउनु पर्ने नै गलहत्तिमा परे । यस्तोबेला प्रधानमन्त्रीको प्रसंशा गर्ने मुटु साँच्चिकै स्वस्थ मुटुले त्यो हिम्मत जुटाउदैन । देशप्रति संवेदित मुटुले त्यो आँट गर्दैन । अस्वस्थ्य र रोगी मुटुले स्तुती गर्नुको अर्थ स्तुतीगान गर्ने र स्तुत्य बन्न चाहनेको आत्मरति मात्रै हो । वास्तविकता होइन ।

नेपालीको दुर्भाग्यपूर्ण स्थिति भनौं प्रधानमन्त्रीको मृगौला अस्वस्थ छ । हप्तामा दुई पटक डायलसिस गरेर पनि प्रधानमन्त्री देश हाँकिरहनु भएको छ । मुटु स्वस्थ्य र बलियो भएकै कारण मृत्युलाई धक्का मुक्का गर्दै बारम्बार कालको बाटो छेकेर प्रधानमन्त्री जीवित हुनुहुन्छ । यो नेपालीको सौभाग्य हो । मृत्युलाई ह्याकुलाले थिच्ने प्रधानमन्त्रीको त्यो साहस सबै रोगी र बिरामीको लागि स्तुत्य र बन्दनीय देखिन्छ । मृत्युसँग अनवरत पौठेजोरी खेलेर आफ्नो आयू लम्ब्याउने प्रधानमन्त्री ओलीको साहसलाई सलाम नगर्ने र प्रसंशा नगर्ने कुनै मुटु छ भने त्यो कि झिंगा झैँ मुटु नै नभएर जन्मेको मनुवा हुनुपर्छ कि रोगी मुटुको व्यथाले आक्रान्त मनुवा हुनुपर्छ । हैन भने स्वस्थ मुटु प्रसंसा गर्न तम्सन्छ नै । कालसँग नडराउने कि आत्महत्या गर्ने व्यक्ति हुन्छ जसले जीवनमा गर्न सकेको एकमात्र साहसिक कार्य आत्महत्या हुनेछ । नभए सारा मान्छे मृत्युको भयसँग लुगलुगी काँप्छ । त्यसैले पनि मृत्युको कहालीलाग्दो भयसँग निर्भयताका साथ लडने ओली प्रसंशा योग्य छन् । जेलको चिसो छिंडीमा पनि काटीकुटी टाकन टुकुन एक ताप्के जत्रो ज्यान हुँदा पनि तपाईको जीजीविसा गज्जबको नै थियो भनेर तपाईका जेल सहयात्री राधाकृष्ण मैनाली सुनाउँछन । त्यो पनि प्रशंसा नै हो ।

रोगसँग लडन सक्ने ओली मुलुकको अव्यवस्थासँग लडन भने पूर्णतय असफल भएको कुरा सुन्न बुझ्न मिडिया र अरु बिपक्षी पार्टीको भर्सन आवश्यक पर्दैन । नेकपा नेता कार्यकर्ताको भाषण, भाषा, शैली र बडील्याङवेजबाट सजिलै बुझ्न सकिन्छ । अतः प्रसंशा गर्ने मुटु पाउन गार्‍हो किन नहोस । प्रधानमन्त्रीको शासकीय क्षमता र ल्याकतको प्रसंशा गर्ने मुटु यतिबेला माछाको झैँ दुई कोठा भएका मुटु हुने मान्छेले गर्छन या भ्यागुताको झैँ तीन कोठा हुने मुटु भएका मान्छेले गर्छन । तर पूर्ण स्वस्थ्य मन मुटु र मस्तिष्क हुनेले गर्न सक्तैनन् । अझ भनौं मुटु रोग विशेषज्ञ डाक्टर रामेश कोइरालाले बताएको स्वस्थ्य मुटु जहाँ दायाँतर्फको दुई कोठाबाट अक्सिजन कम भएको निलो रगत बहन्छ र बायाँतिरबाट अक्सिजनले भरिपूर्ण रातो रगत बग्दछ । यस्तो मुटुले भने पक्कै पनि प्रशंसा कस्तो र कुन बेला गरिन्छ त्यो हेक्का राख्न सक्छ होला । इमान र नैतिकता भुलेर कुन उपलब्धि र प्राप्तीको चांग हेरेर प्रशंसा बोल्नु ,लेख्नु, समर्थन जनाउनु ?

राम्रा कामको समेत प्रशंसा गरेनन् भन्ने प्रधानमन्त्रीले जबाफ दिनुहोस । सपना देखाउनु मात्रै राम्रो काम हो भने त्यो जनताले दुई तिहाई नजिकको सामर्थ्यको गरुङ्गो भारी बोकाएर पठाएकै हुन । यो भन्दा ठूलो ,महत्वपूर्ण र गरिमायुक्त प्रसंशा के हुन सक्छ ? अवसरहरु मध्ये सबैभन्दा नामी अवसर हो ओली नेतृत्वको तत्कालिन बाम गठबन्धनको अनुमोदन त्यो पनि अत्याधिक मत सहित । प्रधानमन्त्री ज्यू यति ठूलो प्रशंसा नेपाली कांग्रेसका सभापति वीपी कोइरालाले २०१५ सालमा पाएका थिए । त्यसपछि तपाई मात्रै त्यस्तो सौभाग्यसाली पात्र हनुहुन्छ जसले सुवर्ण मौका मात्र पाएको छैन अनुकुलता नै अनुकुलताको समय छ । ६ वटा प्रदेशमा पूर्ण बहुमतको सरकार स्थानीय निकायमा ६० प्रतिशत भन्दा ज्यादा विजय आफना पार्टीको पोल्टामा छ । केन्द्रमा यस्तो भव्य सरकार छ ।

प्रतिपक्षी खोजेर पनि भेटन नसकिने स्थिति छ । मानौं प्रतिपक्ष सत्ताकै सहयोगी झैँ प्रतीत हुन्छ एकथान राजदूत केही थान संवैधानिक निकायको नियुक्ती पाए पुग्ने भद्लामी प्रतिपक्ष । यो भन्दा सुनौलो मौका र अवसर अनि अनुकुलता अरु के हुन्छ ? कोही ,कतै प्रतिकुलता छ भने त्यो आफूभित्रको अकर्मन्यता मात्रै हो नत्र सराप्ने ठाउँ समेत छैन । बीपीलाई तर्साउने र तरवार झुण्ड्याउने राजा थिए । तर तपाईको पालामा मन्दिरमा पुजा गर्न हिड्ने पूर्वराजा मात्रै छन जो शक्तिहीन छन् , सामर्थ्य रहित छन् । पूजापाठ गर्छन, ध्यान जप गर्छन तथापि यी धर्मभिरु पूर्वराजासँग पनि डराउनु हुन्छ किन ? आफनै पार्टीको आफ्नै प्रिय कार्यकर्ता राष्ट्रपति हुनुहुन्छ । कम्युनिस्ट पार्टीको तन्त्र गणतन्त्र छ । अब यो भन्दा सुबिधा र अनुकुलता स्वर्गका राजा इन्द्रको पनि छैन होला । दायाँ–वायाँ, वरपर जताततै अनुकुलता भएको बेला अब पनि प्रशंसा गर्ने मुटु नभएका पत्रकार नाथेसँग किन डराउनु हुन्छ ?

मुटु नभएका पत्रकार र बिरोध गर्ने सामाजिक संजालका फुर्सदिला मान्छेहरु सूचना प्रविधि बिधेयक पारित भएपछि कहाँ लुक्छन कहाँ हराउँछन धैर्य गर्नुस सर । त्यसपछि मुटु भएका राता मान्छेहरुको मात्रै जगजगी चल्नेछ । प्रसंशा स्तुती भजन र किर्तनको बहार छाउनेछ । मुटु भएका राता मान्छेहरुको मुटुले रातदिन प्रशंसा गर्नेछ । धुप र तेल लगाउने मालिस गर्नेको क्याम्प खडा हुनेछ । धन्दा नमान्नुस प्रधानमन्त्री ज्यू । विकास र सुशाशनको भाषण सबैको मुखमा हुनेछ । प्रधानमन्त्रीको जय जयकार र जिन्दावाद नृत्यकर्म र मानव धर्म बन्नेछ । यती ग्रुपको लागि बिधान फेर्ने तपाईको हैसियत विचरी सानी वच्ची निर्मलाको हत्यारा पत्ता लगाउन सक्तैन भन्दा मलाई चैं लाज लाग्छ ।

समृद्ध नेपाल र सुखी नेपाली भन्ने नाराले अघाउनु पर्ने जनता गुलिया उखुका नुनिला आँशु लिएर माइतीघर मण्डलामा रुन आइपुग्छन । डाक्टर पढ्ने बिद्यार्थी कलेजले लुट्यो, कुट्यो भनेर सेतो एप्रोन भिरेर मण्डलामा न्यायको भीख माग्छन। बालुवाटार काण्ड, वाइडबडी काण्ड, सुन काण्ड, यती काण्ड , मेलम्ची काण्ड किसान अनुदान काण्डहरुको चांगले तपाईको दुई तिहाइ कतै छेकिदै र हराउँदै गएको छ । बामहरु बेतिथिको थुप्रोमा बामपुड्के देख्दा कुन मुटुले प्रशंसाको सगरमाथा उकाल्न सक्छ र ? बिरेन्द्रले गोकर्ण लिजमा दिंदा त्यो उनको बाउको सम्पत्ती, बपौती थियो । तर अहिले त्यो गोकर्ण लगभग ३००० रोपनी न मेरा बाउको बपौती हो न तपाईका बाउको ? तर बपौतिनै झैँ गरी प्रणाली कब्जा गरेर बिना प्रतिस्पर्धा कसैलाई कुनै गुण तिरे झैँ गर्नुभयो तब प्रशंसामा लेख्ने हात नकाम्नु किन ? ब्यक्ति बफादारीतालाई पद्दति बफादारिता नदेख्नेहरुको मुटु स्याबास र धाप दिन संकुचित बन्छन । त्यसैले प्रसंशा हैन आलोचना सुन्ने धैर्यता राख्नुस र जवाफमा कामको टाइमबम पडकाउनुस । प्रशंसा उर्लेर थामी नसक्नु गरी आउछन । तपाईको प्रशंसा त्यतिबेला पनि मज्जाले भएको थियो जतिबेला परस्परका कट्टर दुश्मन पुष्पकमल दाहाल प्रचण्ड र केपी अर्थात नेकपा एमाले र माओवादी केन्द्र एकीकरणको नाममा एक बनाउनु भयो र प्रचन्डलाई आफ्नो पिंजडामा कैद गर्न सफल हुनुभयो । त्यो अद्भुत क्षमताको कसले प्रसंशा गरेंन र ?

अब अरुका कुरा छाडौं तपाईकै पार्टी कार्यकर्ता जसलाई महिला भएक कारण अन्याय गर्नुभयो । आफ्नै पार्टीका नेता चेली बलात्कार गरेको अभियोगमा थुनामा गए सभामुख रिक्त भयो । तर सबै गुण क्षमता र सामर्थ्यले योग्य भएर पनि शिवमाया तुम्बाहाम्फेलाई आधुनिक सती बनाउन जुन बिवशता लाचारी प्रकट गर्नुभयो । शिवमाया जस्ता कार्यकर्ताको मुटुले कुन विवेकको आधारमा प्रशंसाको पुल बाँध्नु ? तपाईलाई मेरो नेता भनेर छाती ठोक्ने हक खै शिवमायाहरु जस्ताको लागि ? उनको दावीको सट्टामा मनुष्य प्राणहर्ताको केश चलिरहेका नेतालाई योग्य देख्नुभयो ? के यसले कानुनी राज र विधीको सिद्दान्तलाई चुनौती दिएन ? आफ्नैलाई न्याय दिन नसक्नेले देशमा न्याय कानुन र पद्धतीको राजमार्ग निर्माण गर्छ भनेर विश्वास गर्ने आधार र प्रमाण अब पनि जीवित छ र ? आज कालापानीको घाउ बल्झेर नमिठोसंग दुखेको छ । देशका सीमास्तम्भ रातारात गायब भएको छ । देशको भूभाग नै हालसाबी गरेर भारतीय नक्शामा गैसक्यो यस्तोबेला मोदीसँग फोनमा प्रधानमन्त्रीको कुरा भै सकेको छ भनेर चित्त बुझाएर नै बस्ने कि २०७२ सालको झैँ चट्टानी राष्ट्रप्रेमको खम्बा ठड्याउने ? के हामीले हाम्रो आधिकारिक नक्शा निकाल्न सक्दैनौ ? राष्ट्रवाद फ्लेवरमा मात्रै राख्ने कि यथार्थ स्वादमै चखाउने ?

गरिबी निरक्षरता पछौटेपनको अन्त्य, बिकसित, समृद्ध, आधुनिक सुशासनयुक्त राज्य बिकासको तीव्र गती भनिने गायत्री मन्त्र भए अनुभव र अनुभूति गरिने विषय हुन सकेनन । जनतालाई पनि सकारात्मक आँट, जोश, सहनशील र भविष्य द्रस्टा राजनेता र प्रधानमन्त्री चाहिएको थियो । त्यो अपेक्षा तपाईबाट पनि पूरा नहुँदा छाती हात्तीको बाट ढुकुरमा रुपान्तरण भएको हो । जनताको मृत सपनामा जल छर्कन सफल हुनुभयो तर सपना साकार बनाउने कुरामा चैं थोरैको सपनालाई प्राथमिकता दिनुभयो । यतीको सपना पुराभयो तर तपाई जस्तै बिरामी सारा नेपालीको सिटामोल खाने सपना गोविन्द केसीलाई भुइमा लडाएर पनि पुरा भएन ।

आम जनताको पक्षमा बडागजी मुटु गर्नुस मेरो पक्षमा बोलेनेन भनेर गुनासो गर्ने स्थिति आउँदैन । कार्यकर्तालाई अरिंगाल बनेर चिल्न् होइन माहुरी र कमिला बनेर परिश्रम गरेर मह उत्पादन गर्न र मेहनतको टावर उठाउन भन्नुस ढुंगा माटो हावापानी प्रशंसा गर्न आइपुग्छन । मुटु स्वस्थ भएर मात्रै नपुग्ने रहेछ मन, मस्तिष्क, विचार र काम पनि स्वस्थ हुनुपर्ने रहेछ । लोकतन्त्रमा मिडिया प्रशंंसक होइन आलोचक, आग्रही, पूर्वाग्राही होइन सत्याग्राही हुनुपर्छ भनिन्छ । तर हाम्रा प्रधानमन्त्रीलाई प्रशंसाको भोक मात्रै किन लागेको हो बुझिनसक्नु छ । आलोचनाले बाटो देखाउँछ प्रशंसाले बाटो बिराउँछ । सरकार बाटोमा हिंड कु-बाटोमा नहिड ।