१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेस महाधिवेशनको तयारी अन्तिम चरणमा


13
Shares

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औं केन्द्रीय महाधिवेशनको अन्तिम तयारीमा पुगेको छ ।

यही मंसिर २४ देखि २७ गतेसम्म आयोजना हुने महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।

उहाँले नेपाली कांग्रेस पार्टीको ८ वटा चरणमध्ये ७ वटा तहमा निर्वाचन हुने र त्यसमध्ये हालसम्म ६ वटा तहमा निर्वाचन सकिएको बताउनुभयो ।

प्रवक्ता शर्माले प्रदेश २ को प्रदेश अधिवेशन र केही जिल्लाको अधिवेशन बाहेक अन्य सबै तहका निर्वाचन सकिएको र प्रदेश २ मा महाधिवेशनपछि निर्वाचन गर्ने बताउनुभयो ।

उहाँले केन्द्रीय महाधिवेशनको लागि आवास, खाद्यान्नको व्यवस्थापन र प्रचारप्रसारका कामलाई तीव्रताका साथ अघि बढाइएको बताउँदै महाधिवेशनको स्वागत द्वार र श्रृंगारको संयोजक केपाली कांग्रेस काठमाडौं जिल्लाका सचिव गोविन्द पुडासैनीलाई बनाएर काम अघि बढाइएको पनि बताउनुभयो ।

प्रवक्ता शर्माले कोरोना भाइरसको जोखिम कायमै रहेको बेला नयाँ भेरियन्टले बढाउनसक्ने समस्यालाई मध्यनजर गरी महाधिवेशन स्थलमा स्यानिटाइजर, मास्कको अनिवार्य गरेको बताउनुभयो ।

कांग्रेस, देश र समाज रुपान्तरणको लागि विभिन्न नेताहरुले राखेका कुरा केन्द्रीय महाधिवेशनको विषयवस्तु नबने पनि नीति अधिवेशनमा यिनै कुराहरूलाई विषयवस्तु बनाइने बताउनुभयो ।