
काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एक दिवसिय क्रिकेट र महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको मिति परिवर्तन हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले यसअघि प्रधानमन्त्री कप पुरुष प्रतियोगिता पुष १२ देखि २५ सम्म हुने भनिए पनि विभिन्न कारण पुष २५ देखि माघ ७ सम्म हुने जनाएको छ ।
प्रधानमन्त्री कप महिला टि–२० प्रतियोगिता मंसिर २७ देखि पुष ७ गतेसम्म आयोजना गर्ने भने पनि नयाँ मिति पुष ३ देखि ११ मा हुनेछ । महिला टि–२० प्रतियोगिता धनगढीको फाप्ला क्रिकेट मैदानमा हुनेछ ।
प्रधानमन्त्री कप पुरुष काठमाडौंको टियु र मुलपानी क्रिकेट मैदानमा आयोजना हुनेछ । प्रतियोगिताका लागि सबै जिल्लाहरूले जिल्ला छनोट सुरु गरिसकेका छन् । प्रधानमन्त्री कप पुरुषमा ७ प्रदेशसँगै तीन विभागीय टोलीले सहभागि जनाउनेछन् ।
क्यानले यस संस्करणदेखि प्रतियोगिता लिगमा गर्ने बुझिएको छ । यसअघि १० टोलीलाई दुई समूहमा विभाजन गरी प्रतिस्पर्धा हुँदै आएको थियो । प्रधानमन्त्री कप महिलामा भने ७ प्रदेश र एक विभागीय टोली गरी ८ टोलीबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्