
खिलनाथ ताजपुरिया
काठमाडौं । केपी शर्मा ओलीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अस्थिर राजनीतिको अन्त्यका लागि पहल गर्ने भन्दै जति सक्दो चाँडो ताजा जनादेशमा आफ्नो दृष्टि बनाएको छ । जति चाँडो निर्वाचन भयो त्यति नै आफूलाई सहज हुने एमालेको बुझाइ छ ।
हालै सम्पन्न राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको एमालेले आफ्नो काँधमा लोकतन्त्रको रक्षा तथा समृद्ध नेपालको सपना पूरा गर्ने चुनौती थपिएको बताएको छ । सर्वोच्चको फैसलाबाट गुमाएको साख फर्काउने दृढताका साथ एमाले अघि बढेको देखिन्छ योसँगै ताजा जनादेशको रटान पनि उसले सुरु गरेको छ ।
पाँच दलीय गठबन्धनको सरकारले मुलुकलाई निकास दिन नसक्ने जिकिर गरेको एमाले न्यायपालिका र व्यवस्थापिकामा देखिएको समस्यालाई जनता बीच उजागर गर्ने र जनमत बटुल्ने रणनीतिमा देखिन्छ ।
उसो त सर्वोच्च र संसदमा देखिएको वेथिति आगामी निर्वाचनका लागि एमालेको गतिलो अस्त्र बन्न सक्ने सम्भावना पनि छ । न्यायालयमा देखिएको समस्या सत्ता गठबन्धनका कारण उब्जिएको भन्ने तथ्य स्थापित गर्न एमालेले जोडबल गरिरहेको छ ।
अवसर र चुनौतिका साथ अघि बढेको एमाले निर्वाचनकै प्रतिक्षामा देखिन्छ । ढिलो चाडो निर्वाचनको लहर सुरु भएपछि एमालेले आगामी निर्वाचनमा केन्द्रदेखि स्थानीयसम्म बहुमत जुटाउन सक्ला त ? समृद्ध नेपालको सपना ओलीको अगुवाइमा हुन सक्ने विश्वास जनताले गरिसकेको जिकीर नेता शेरबहादुर तामाङ गर्नुहुन्छ ।
सभामुखप्रति आक्रोश व्यक्त गर्दै आएको एमाले मंसिर २८ गते आह्वान गरिएको संसद अवरोध गर्ने चेतावनी दिइसकेको छ । तर, संसद बैठकमा एमाले सांसदले निर्वाह गर्नुपर्ने भूमिकामा एमालेभित्र दुई धार देखिएको छ । नेता तामाङ पार्टीले गर्ने निर्णयलाई सबैले स्वीकार गर्नुपर्ने बताउनुहुन्छ ।
महाधिवशेनबाट ओलीको नेतृत्वमा १९ पदाधिकारीसहित ३ सय १ केन्द्रीय कमिटी चयन गरेको एमालेले यही मंसिर २५ गते बस्ने केन्द्रीय कमिटीको बैठकबाट ४५ सदस्यीय स्थायी र ९९ सदस्यीय पोलिटब्यूरो समिति गठन गर्ने तयारीमा छ ।
प्रतिक्रिया दिनुहोस्