१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संस्थापन इतरबाट साझा उम्मेदवार चयन गर्न शीर्ष नेतालाई दवाव

बेलुकासम्म निर्णयमा पुग्ने केसीको दाबी

0
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूले संस्थापनइतर पक्षबाट पार्टीको नेतृत्वमा साझा उम्मेदवार चयन गर्न शीर्षनेताहरूलाई दबाव दिएका छन् ।

बुधबार काठमाडौंमा बसेको संस्थापनइतर पक्षका नेताहरूको बैठकले पार्टीको आसन्न १४औं महाधिवेशनमा सभापतिका लागि साझा उम्मेदवार चयन गर्न शीर्षनेताहरूलाई दवाव दिएका हुन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले संस्थापनइतर पक्षका विभिन्न जिल्लाका सभापति र पार्टी केन्द्रीय सदस्यहरूसँग छलफल गर्दा नेता प्रकाशमान सिंह र शेखर कोइरालामध्ये एक जनालाई साझा उम्मेदवार दिन दवाव दिएको नेता अर्जुननरसिंह केसीले बताउनुभयो ।

उहाँले आफू अन्तिम निष्कर्षको बाटोतर्फ उन्मुख भएको भन्दै बेलुकासम्म निर्णय गर्ने जानकारी दिनुभयो । नेता केसीले संस्थापनइतर समूहबाट नेता सिंह र शेखर कोइराला मिलेर आए नेता पौडेल र महामन्त्री शशांक कोइरालाले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको समेत जानकारी दिनुभयो ।

नेता केसीले भन्नुभयो, ‘हामी करिव अन्तिम निस्कर्षको बाटोतिर उन्मुख छौँ । अहिले जितेका कमसेकम ३२ जना जिल्ला सभापतिहरुसँग बसेर कुराकानी गर्दा विभिन्न सुझाव आएका छन् । ती सुझावहरुलाई लिएर फेरि बैठक बसेर बेलुकासम्म निर्णय गर्छौं ।’

त्यस्तै नेपाली कांग्रेसका नेता जगदिश्वरनरसिंह केसीले वरिष्ठ नेता पौडेल र शशांक कोइरालालाई साझा उम्मेदवार तोक्न दवाव दिएको बताउनुभयो । उहाँले संस्थापन इतर समूह विचार र सिद्धान्तको समूह भएकोले बिपीको विचार र आदर्शमा रहेर अघि बढ्ने बताउनुभयो ।