
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले भूकम्पपछिको पुनर्निर्माणको ९० प्रतिशत काम सम्पन्न भएको बताउनुभएको छ ।
भूकम्पपछिको पुनर्निर्माणको अनुभव तथा प्रगति अन्तर्राष्ट्रिय समुदायमा पुर्याउन राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले आयोजना गरेको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले विभिन्न दातृ निकायको सहयोग र राजनीतिक दलहरूको संकल्प, सरकारको जिम्मेवारी र पुनर्निर्माणमा खटेको जनशक्तिको लगनशीलताको कारणले पुनर्निर्माणको कार्यले मूर्तरूप लिएको बताउनुभयो ।
उहाँले पुनर्निर्माणको अभियानमा सहयोग गर्ने सबै मित्र राष्ट्रहरू तथा विकास साझेदार निकायलगायत अन्तर्राष्ट्रिय संघ संस्था, पुनर्निर्माणमा प्रत्यक्ष प्रत्यक्ष रूपमा सहयोग गर्नेहरूलाई धन्यावाद दिनुभयो ।
‘भूकम्पपछिको पुनर्निर्माण ९० प्रतिशत सम्पन्न गर्नुमा पुनर्निर्माण प्राधिरकण, नेपाल सरकार, दातृ निकायको प्रमुख भूकिका रहेको छ,’ उहाँले भन्नुभयो,’ उहाँले भन्नुभयो, ‘भूकम्पपछिको सफल पुननिर्माण कार्यले भूकम्पबाट क्षतिग्रस्त संरचनाको निर्माण मात्र नभएर निर्णय क्षमता र प्रविधि क्षेत्रको ज्ञानसमेत विकसित भएको छ ।’
अर्थमन्त्री शर्माले पुनर्निर्माणका बाँकी कामहरूलाई चालु आर्थिक वर्षभित्र सम्पन्न गरी सक्ने बताउनुभयो । उहाँले चालु आर्थिक वर्षभित्र सक्नको लागि शहरी विकास मन्त्रालयलाई जिम्मा दिएको बताउनुभयो । त्यस्तै, विपद् व्यवस्थापनसम्बन्धी कामहरू गर्न विपद् व्यवस्थापन प्राधिकरणले गर्ने र अन्य बाँकी कामहरू सरकारले नियमित कार्यक्रममा राखेर सम्पन्न गर्ने बताउनुभयो ।
मन्त्री शर्माले ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरूको पुननिर्माणले मुलुकको विभिन्न ऐतिहासिक मठमन्दिर, धरहरा, रानीपोखरी, दरबार हाइस्कुल जस्ता गौरवपूर्ण सांस्कृतिक सम्पदाको पुननिर्माण भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्