१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जापानबाट फर्किएर चटपटे र पानीपुरीको व्यापार, मासिक लाख बढी आम्दानी


2.522k
Shares

मालती घोरासैनी
काठमाडौं । चनाचटपटे बेच्नेको दैनिक कमाई कति होला ? चनाचटपटे र पानीपुरी बेचेर दैनिक गुजारा चलाउन सकिएला ? कहिलेकाहिँ मिठोमसिनो खाएर रोग लाग्दा औषधोपचार गर्न सकिएला ? यी प्रश्नको उत्तर खोज्ने प्रयासमा छौं आज हामी ।

काठमाडौंका केही चनाचटपटे र पानीपुरी व्यापारीलाई सोध्दा उनीहरुले आफ्नो परिवारको खर्च यसैबाट चलिरहेको बताए । कसैले व्यापारबाट नेपाल सरकारको मुख्यसचिवको तलबभन्दा बढी कमाइ गर्छन् । काठमाडौंमा सामान्य चटपटे बेच्नेले दैनिक तीनदेखि ६ हजारसम्म कमाई गर्ने गरेका छन् ।

कोभिड संक्रमणपछि जापानबाट फर्किएर आएका युवाले समेत आफ्नो जीविकाको स्रोत चटपटे र पानीपुरी व्यवसायलाई बनाएका छन् । जाँगर भए स्वदेशमै पसिना बगाएर इज्जतको रोटी खान सकिने यस्ता व्यवसायीहरू बताउँछन् ।

पोखरा घर भई हाल काठमाडौंमा पानीपुरी र चटपटे व्यवसाय गर्दै आएका दिपक भुजेल पाँच वर्षअघि रोजगारीको सिलसिलामा जापान पुगे । दुई वर्षअघि कोरोना महामारीले जागिर खोस्यो र उनी स्वदेश फर्किए । जापानमा कमाइरहेको तलब बराबरको रकम अहिले उनी पानीपुरी व्यवसायबाटै गर्छन् ।

१४ वर्षदेखि भुजेलको परिवारका सदस्यहरू मिलेर यो व्यवसाय सञ्चालन गर्दै आइरहेका छन् । अचम्म त के छ भने उनी विदेश जाँदा लागेको खर्च पूर्ति गर्न पानीपुरी बेचेर आर्जन कमाइको ठूलो हात छ । जापानबाट फर्किएपछि भुजेलले यो व्यवसायमा थप दिलचस्पी दिए ।

आफ्नो परिवारसँगै बसेर काम गर्न पाउँदा दीपकलाई मनग्गे सन्तुष्टि मिलेको छ । काम सानो र ठूलो कहिल्यै हुँदैन । सानो पुँजीबाट सुरु गरिएको व्यवसायले घरव्यवहारमा ठूलो आर्थिक सहयोग भइरहेको उनी बताउँछन् ।

लामो समयको लकडाउनपछि फेरि सुरु गरेको व्यवसायले सुरुमा आम्दानी लिन केही अप्ठ्यारो भयो । मानिसहरु घर भन्दा बाहिरको खानामा कम खान थालेसँगै व्यवसायमा समस्या आयो । समाज कल्याण परिषद्लाई मासिक भाडा तिरेर व्यापार गरिरहेका उनी अप्ठ्यारोमा परे । आखिर भाडा बुझाउन नसकेपछि थप १५ सय रुपैयाँ जरिवाना तिर्नुपर्ने भयो ।

यही व्यवसाय गर्नेहरूका आ–आफ्नै अनुभव छ । दोलखा घर भएकी ३५ वर्षीया कविता शिवाकोटी १७ वर्षदेखि भृकटीमण्डपमा पानीपुरी र चटपटे व्यवसाय गर्दै आइरहेकी छन् । यस ठाउँमा व्यवसाय गर्दा महिनाको ३५ सय भाडा समाज कल्याण परिषद्लाई बुझाउनुपर्ने उहाँको भनाइ छ । भाडा बुझाएर पनि आफ्नो घरखर्च चलाउन सहज भएको उहाँ बताउनुहुन्छ ।

नेपालमा बेरोजगारको समस्याले दैनिकी हजारौं विदेशिने गरेका छन् । तर, सानो पुँजीबाट नै मनग्य आम्दानी दिने यस्ता व्यवसायप्रति युवाको रुचि देखिने गरेको छैन ।