
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रदेश पदाधिकारीमा संशोधन गर्ने निर्णय गरेको छ ।
बिहीबार पार्टी कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकले प्रदेश पदाधिकारी संख्या दुई जना बढाएर नौ जना बनाउने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
प्रदेशमा अब एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र एक कोषाध्यक्षसहितको पदाधिकारी रहने व्यवस्था हुनेछ । यसअघि प्रदेशमा एक अध्यक्ष, दुई उपाध्यक्ष, एक सचिव, दुई सहसचिव र एक कोषाध्यक्ष रहने व्यवस्था थियो । पार्टीले एक उपाध्यक्ष र एक सहसचिव थप गरेको हो ।
यस्तै बैठकले प्रदेश अनुसार कार्यसमितिलाई पनि संशोधन गर्ने निर्णय गरेको छ । यसअघि हरेक प्रदेशमा १ सय ७५ जना सदस्य रहने गरेको भनिए पनि बिहीबारको बैठकले त्यसलाई संशोधन गर्दै प्रदेशअनुसार फरक संख्याको कार्यसमिति बनाउने भएको हो ।
प्रवक्ता महराका अनुसार प्रदेश १ मा २ सय ५९, प्रदेश २ मा २ सय ७१, बागमतीमा २ सय ७५, गण्डकीमा २ सय २९, लुम्बिनीमा २ सय ५३, कर्णालीमा २ सय ११ र सुदूरपश्चिम प्रदेशमा २ सय २३ जनाको कार्यसमिति रहेनछ ।
पार्टी प्रवेश गरेकाहरुको विषयमा अध्ययन गर्दै समायोजनका लागि देव गुरुङको संयोजकत्वमा गिरिराजमणि पोखरेल र श्रीदेव ढकाल सदस्ययी रहेको तीन सदस्यीय कार्यदल बनाइएको प्रवक्ता महराले बताउनुभयो ।
बैठकले महिला विभाग थप गर्दै त्यसको प्रमुखको जिम्मेवारी ऊर्जामन्त्री समेत रहनुभएका पम्फा भुसाललाई दिएको छ । विभागका बाँकी पदाधिकारी को टुंगो पछि लगाउने तय भएको प्रवक्ता महराको भनाइ छ ।
माओवादी केन्द्रको प्रदेश सम्मेलन मंसिर २५ गते हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्