
अक्कल कुँवर
काठमाडौं । शुक्रबारदेखि सुरु हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । महाधिवेशन प्रतिनिधिहरू काठमाडौं आउन थालेका छन् ।
नेपाली कांग्रेसको यो महाधिवेशन संघीय संरचनापछि विधान अनुसार हुन लागेको पहिलो महाधिवेशन हो । महाधिवेशन रौनक सुरु भएसँगै नेतृत्वका आकांक्षीहरू प्यानल निर्माण र टाउको गन्तीमा व्यस्त छन् ।
महाअधिवेशनले १४ पदाधिकारीसहित १ सय ६७ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ । महाधिवेशनबाट एक सभापति, २ उपसभापति, २ महामन्त्री र क्लष्टरबाट ८ जना सहमहामन्त्री चयन हुनेछ ।

पार्टीको संशोधित विधानअनुसार पदाधिकारीसहित १ सय ३४ पदमा मतदानबाट चयन गर्ने व्यवस्था छ । १३ औं महाधिवेशनमा ६४ पदमा मात्र निर्वाचन भएको थियो । ३३ केन्द्रीय सदस्य भने निर्वाचित केन्द्रीय समितिले समानुपातिक र समावेशीताका आधारमा मनोनयन गर्नेछ ।
कांग्रेसको पछिल्लो पटक संशोधित विधानअनुसार सहमहामन्त्रीहरु क्लष्टरबाट चयन गरिनेछ । क्लष्टर छुट्याए पनि सबै केन्द्रीय महाधिवेशन प्रतिनिधिबाट नै निर्वाचित हुनुपर्ने व्यवस्था छ । कोषाध्यक्ष भने मनोनित हुने व्यवस्था छ ।
महाधिवेशनबाट निर्वाचित भएका केन्द्रीय सदस्यहरूमध्येबाट सभापतिको सिफारिसमा निर्वाचित केन्द्रीय समितिले कोषाध्यक्ष चयन गर्नेछ । कम्तीमा १० वर्ष निरन्तर कांग्रेसको क्रियाशील सदस्य भएका केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूमध्येबाट खुला ३५ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

केन्द्रीय समितिमा महिला ९, प्रत्येक प्रदेशबाट अनिवार्य एकमहिलासहित तीन जना गरी २१, दलित ४ महिलासहित ९, आदिवासी जनजातीबाट ७ महिलासहित १५, खसआर्य ६ महिलासहित १३, मधेशी कोटा ४ महिलासहित ९ जनाको प्रतिनिधित्व हुनेछ । थारु २ महिलासहित ४ जना, मुस्लिम १ महिलासअित ३ र पिछडिएको क्षेत्रबाट १ केन्द्रीय सदस्य महाधिवेशनले चयन गर्नेछ ।
यस्तै, अपाङ्गता वा अल्पसंख्यक समूहबाट १ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । यता, सभापतिले मनोनयन गर्ने ३३ जना केन्द्रीय सदस्य विधानअनुसार निर्वाचित भएर आउन नसकेको विभिन्न क्लस्टरहरू महिला, समावेशी सिद्धान्त, अपाङ्गता, अल्पसंख्यक तथा पिछडिएको क्षेत्रको प्रतिनिधित्वलाई समेट्ने गरी मनोनयन गर्नुपर्ने विधानमा उल्लेख छ ।

शुक्रबारदेखि सुरु हुने महाधिवेशनको निर्वाचन कार्यतालिका पनि सार्वजनिक भइसकेको छ । शुक्रबार नै मतदाता नामावली प्रकाशन गरेर सुरु हुने निर्वाचन प्रक्रिया २७ गते विहान ८ बजेदेखि मतदान सुरु गर्ने गरी निर्वाचन कार्यतालिका तय गरिएको छ । मतदानका लागि भृकुटीमण्डप, राष्ट्रियसभा गृह र पुलिस क्लबमा मतदान स्थल बनाउने तयारी छ ।
१४ औं महाधिवेशनका लागि २ सय ९३ वटा मतदान बुथ र १ हजार वटा मतपेटिका राखिनेछ । नेतृत्व छनोटका लागि मात्र हुन लागेको १४औं महाधिवेशनमा विचार, नीति तथा कार्यक्रममाथि बहस हुने छैन । यसअघिको महासमिति बैठकपछि महाधिवेशनले पारित गर्ने गरी गरिएका निर्णय अनुमोदन प्रतिवेदन भने पेश गरिने छ ।
प्रतिक्रिया दिनुहोस्