१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


यति धेरै पूर्व प्रधानमन्त्री एउटै मञ्चमा मैले आजसम्म देखेको थिइन : भाजपा नेता हर्ष वर्धन


13
Shares

काठमाडौं । भारतीय जनता पार्टीका नेता एवं पूर्वमन्त्री हर्ष वर्धनले आफूले यति धेरै पूर्वप्रधानमन्त्रीलाई एकैपटक एउटा मञ्चमा नदेको बताउनुभएको छ ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना सम्बोधन गर्दै नेता हर्ष वर्धनले आफूले आजको जस्तो कार्यक्रम आफ्नो राजनीतिक इतिहासमा अहिलेसम्म नदेखेको बताउनुभयो ।

‘मैले कुनै पनि कार्यक्रममा यति धेरै पूर्वप्रधानमन्त्री एउटै मञ्चमा बसेको देखेको थिइन,’ उहाँले भन्नुभयो, ‘म एकदमै अचम्ममा परेको छु ।’

नेपालको राजनीतिक दलहरुमा भएको एकताको भावनालाई सम्मान गर्नुपर्ने बताउँदै अन्य देशका नेताहरुले पनि यसलाई अनुसरण गर्नुपर्नेमा जोड दिनुभयो ।

‘एउटा पार्टीको महाधिवेशनमा देशका सम्पूर्ण राजनीतिक दलका शीर्ष नेताहरु देखेर मलाई अचम्म लाग्यो,’ उहाँले भन्नुभयो, ‘नेपालको यो संस्कारका अन्य देशका राजनीतिक दलहरूले पनि अनुसरण गर्नुपर्छ ।’

भारतीय केन्द्रीय मन्त्री समेत रहनुभएका हर्ष वर्धनले भारतले २०७२ सालमा आएको भूकम्प र कोभिडको समयमा पनि नेपाललाई सहयोग गरेको स्मरण गर्नुभयो । उहाँले नेपाल र भारतबीच हिन्दुत्वकोे सम्बन्ध रहेको समेत बताउनुभयो ।

कांग्रेस महाधिवेशनमा केपी शर्मा ओली, पुष्पकमल दाहाल र माधवकुमार नेपाल गरी तीनजना पूर्व प्रधानमन्त्री सहभागी छन् ।