
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवालाई सरकारको नेता हुन सुझाव दिनुभएको छ ।
शुक्रबार नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना दिन भृकुटीमण्डप पुग्नुभएका अध्यक्ष ओलीले देउवालाई प्रधानमन्त्री मात्र नभएर सरकारको नेता बन्न सुझाव दिनुभएको हो ।
‘शेरबहादुरजीलाई मेरो एउटा सुझाव छ,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘तपाईं प्रधानमन्त्री मात्र होइन सरकारको नेता हुनुस् ।’
केही दिन अघि माओवादी अध्यक्ष दाहालले कांग्रेसको सरकार भए पनि आफूले सरकारको नेतृत्व गरिरहेको बताउनुभएको थियो ।
अध्यक्ष ओलीले देशलाई सही दिशामा अघि बढाउने अभिभारा नेपाली कांग्रेस र नेकपा एमालेको काँधमा आएको बताउनुभयो । माधवकुमार नेपाल र पुष्पकमल दाहालप्रति संकेत गर्दै उहाँले साना दललाई नेपाली कांग्रेसले औंलो समाउन दिएन भने के होला भन्दै प्रश्नसमेत गर्नुभयो ।
अध्यक्ष ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनप्रति व्यङ्ग्य गर्दै भर्खर हिँड्न जानेको बाच्छोको संज्ञा दिनुभएको छ ।
‘भर्खर–भर्खर अध्यक्ष हुनुभाको छ क्यारे रापताप होला केही साथीहरुलाई,’ उहाँले भन्नुभयो, ‘भर्खरको बाच्छो हिड्न जान्दैन, बढी कु्दन खोज्छ, अलि समयमा ठिक आउला भन्ने मलाई लाग्छ ।’
लिङ्देनले गाउँमा जाँदा आजकल नेताहरुलाई चोर भन्ने गरेको बताउनुभएको थियो । उहाँले हरेक राजनीतिक नेतृत्व सुध्रिनुपर्नेमा जोड दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्