१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


साफ यू–१९ महिला फुटबल च्याम्पियनसिप शनिबारबाट बंगलादेशमा सुरु हुँदै


0
Shares

काठमाडौं । दोस्रो संस्करणको साफ यू–१९ महिला फुटबल च्याम्पियनसिप शनिबारबाट बंगलादेशमा सुरु हुँदैछ । नेपालले भोलि नै आफ्नो पहिलो खेल बंगलादेशविरुद्ध खेल्दैछ ।

यसअघि सन् २०१८ मा भुटानमा भएको पहिलो संस्करण यू–१८ टिमबीच प्रतिस्पर्धा भएको थियो । तर, पनि नेपालका लागि बंगलादेशविरुद्धको खेल बदला लिने एक मौकाको रूपमा रहनेछ । किनभने पहिलो संस्करणमा बंगलादेशविरुद्ध पराजित भएपछि नै नेपालले उपविजेतामा चित्त बुझाउनु परेको थियो ।

फाइनल १–० ले पराजित भएको नेपाल समूह चरणमा पनि २–१ ले पराजित भएको थियो । बंगलादेश प्रस्थान गर्नुअघि नै नेपाली टिमका कप्तान अन्जना राना मगरले टिमको मुख्य लक्ष्य उपाधिसँगै भारत र बंगलादेशलाई हराउनु रहेको बताएकी थिइन् । मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले यस पटक उपाधि जितेर आउने बताएका थिए ।

राउन्ड रोविनको आधारमा हुने प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ । आयोजक बंगलादेशसहित नेपाल, भुटान, भारत र श्रीलंकाले सहभागिता जनाएका छन् । राउन्ड रोविनको खेलपछि शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछ ।

बंगलादेशपछि नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध डिसेम्बर १५ मा खेल्नेछ । नेपालको तेस्रो खेल भुटानविरुद्ध डिसेम्बर १७ र अन्तिम खेल भारतविरुद्ध डिसेम्बर १९ मा रहेको छ । फाइनल खेल डिसेम्बर २१ मा हुनेछ ।