
काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १४ औं महाधिवेशनमा सभापतिमा डा. शेखर कोइरालाले पनि उम्मेदवारी दिनुभएको छ ।
कांग्रेस सभापतिका लागि शेखर सहित वर्तमान सभापति शेरबहादुर देउवा,प्रकाशमान सिंह,विमलेन्द्र निधि,कल्याण गुरुङ र गोरखाका युवराज न्यौपानेले उम्मेदवारी दर्ता गराएकामा न्यौपानेले भने शेखरलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिनुभएको छ ।
को हुन शेखर ?
शेखर पेशाले डाक्टर हुनुहुन्छ । उहाँले बीर अस्पताल,बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोशी अञ्चल अस्पतालमा रहेर काम गर्नु भएको छ । कोइराला उमेरका हिसावले ७१ वर्ष पुग्नु भएको छ । बुवा केशवप्रसाद कोइराला र आमा नोना कोइरालाका सुपुत्र शेखरको जन्म २००७ भदौ ९ गते विराटनगरमा भएको थियो । सरकारी स्वास्थ्य संस्थामा काम गर्दा पेन्सन पाक्न एक वर्षको मात्र समय बाँकी रहँदा उहाँ २०५१ सालबाट राजनीतिमा होमिनु भएको थियो ।
उहाँले चिकित्सा शिक्षामा एमडी गर्नुभएको छ । नेपाली राजनीतिमा कोइराला परिवारको महत्वपूर्ण योगदान छ । शेखर पनि २०२६ सालमै कांग्रेसको राजनीतिमा जोडिनु भएको थियो ।राजनीतिक परिवारका शेखर नेपाली काँग्रेसको केन्द्रीय राजनीतिमा भने ११ औं महाधिवेशनबाट हामफाल्नु भएको हो । उहाँ २०७२ फागुनमा भएको कांग्रेसमो १३ औं महाधिवेशनमा लोकप्रिय मतका साथ एक नम्बरमा केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो । २०७० सालको संविधान सभा निर्वाचनमा उहाँ मोरङबाट विजयी हुनुभएको थियो ।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा भने शेखर पराजित हुनुभयो । शेखरले अहिलेसम्म पार्टी पदाधिकारी र मन्त्री पद प्राप्त गर्नुभएको छैन । उहाँ अहिले सीधै सभापतिमा उम्मेदवार बन्नु भएको छ । कोइरालालाई गगन थापा लगायतको युवा टीमको समर्थन छ ।
प्रतिक्रिया दिनुहोस्