१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पुँजी बजारबारे पूर्व प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति गैह्र जिम्मेवारीपूर्ण : विवेकशील साझा पार्टी


117
Shares

काठमाडौं । विवेकशील साझा पार्टीले पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिनुभएको पुँजी बजारसम्बन्धी अभिव्यक्तिलाई गैह्र जिम्मेवारपूर्ण भन्दै खेद प्रकट गरेको छ ।

प्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विगतमा दुई पटक मुलुकको शासन सत्ताको बागडोर सम्हालिसकेका र वर्तमान सत्ता गठबन्धनमा अर्थ मन्त्रालयसमेतको नेतृत्व गरेको पार्टी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालै ‘धितोपत्र बोर्डः साम्राज्यवादको विकसित रूप’ भनि दिनुभएको अभिव्यक्ति पूर्णतः गैह्र जिम्मेवारपूर्ण र अनुत्तरदायी रहेको ठहर गर्दै विवेकशील साझा पार्टी त्यसप्रति खेद व्यक्त गर्दछ ।’

पुँजी बजारका विषयमा वामपन्थी अझ खास गरी माओवादी पृष्ठभूमिका नेताहरूबाट पटक–पटक असहिष्णु टिप्पणी सार्वजनिक हुँदै आएको भन्दै पार्टीले आफ्नो अभिव्यक्तिले बजारको मनोविज्ञानलाई कस्तो असर पार्छ भन्ने कुराको गहिरो हेक्का नराखी शेयर बजारलाई जुवा घर करार गर्नेदेखि साम्राज्यवादको विकसित रूपको संज्ञा दिने कार्य उच्च राजनीतिक नेतृत्वमा रहेको अल्पज्ञान र सङ्कुचित सोचाइको उपज भएको टिप्पणी गरेको छ ।

‘पुँजी बजार कुनै बाह्य प्रभावविना आफ्नै लय र गतिमा चलायमान हुनुपर्छ, बजार दुर्घटनामा पर्‍यो भने अरू धेरै क्षेत्रमा गहिरो असर पर्छ र अर्थतन्त्र दुष्चक्रमा फस्न जान्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस तथ्यलाई मनन गर्दै आफ्नो भनाई तत्काल सच्याउन र आइन्दा संवेदनशील र जिम्मेवार रूपमा प्रस्तुत हुन हामी नेता दाहाललाई सुझाव दिन्छौं ।’

त्यसैगरी, पुँजी बजारलाई नियमन गर्ने निकायहरू धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष र स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारीमा योग्य व्यक्ति अविलम्ब नियुक्त गर्नसमेत पार्टीले सरकारसँग माग गरेको छ ।

माओवादी अध्यक्ष दाहालले आइतबार भएको एक कार्यक्रममा सेयर बजारमा लगानी गर्नुलाई साम्राज्यवादको विकसित रूप भएको बताउनुभएको थियो ।