७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


प्रदेश २ को नामकरण र राजधानी टुंग्याउन पुस ८ गतेदेखि प्रदेशसभामा छलफल हुने


221
Shares

काठमाडौं । सरकार गठन भएको चार वर्षपछि प्रदेशको नामकरण र राजधानी टुंग्याउने तयारीमा प्रदेश २ सरकार जुटेको छ । दलहरूको आ–आफ्नै अडानले अल्झिएको नामकरण र राजधानीबारे पुस ८ गतेदेखि प्रदेशसभामा छलफल हुने तय भएको छ ।

जनता समाजवादी पार्टी नेपाल, नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गरी चार दलको दुई तिहाइको सरकार रहेकाले नाम र राजधानीको टुंगो लगाउन चौतर्फी दवाव रहँदै आएको छ ।

जसपा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा माओवादीले प्रदेशको नाम मधेस प्रदेश राख्नुपर्ने अडान राखेका छन् भने नेकपा एमालेले जनक, नेकपा एकीकृत समाजवादीले जानकी प्रस्ताव गरेका छन् । नेपाली कांग्रेसले मिथिला भोजपुरा र कांग्रेसकै केही सांसदले मधेस प्रदेश नाम प्रस्ताव दर्ता गराएका छन् ।

प्रदेशको नाम र स्थायी राजधानी तोक्न दुई तिहाइ बहुमत आवश्यक पर्छ । एमालेले भने जानकी, जनक र मिथिला प्रदेशका लागि अन्य दलले सहकार्यको प्रस्ताव राखे सहयोग गर्ने तर अन्य नाममा भने सम्झौता नगर्ने निर्णय गरेको छ ।