
काठमाडौं । पुरातत्व विभागले आगामी आर्थिक वर्षभित्र भूकम्पले ध्वस्त बनाएका पुरातात्विक महत्वका सम्पदाहरूको पुनर्निर्माणको काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ ।
विभागका महानिर्देशक दामोदर गौतमले आगामी आर्थिक वर्षभित्र भूकम्पले ध्वस्त बनाएका सम्पदाहरूको पुनर्निर्माण कार्य सम्पन्न गरिसक्ने तर त्यसका लागि सरकारले आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
सोमबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उहाँले बजेट अभावकै कारण गुम्बाहरूको पुनर्निर्माणको कामलाई अघि बढाउन नसकिएको पनि स्पष्ट पार्नुभयो ।
१२ सय ३३ वटा गुम्वा पुनर्निर्माण गर्नुपर्नेमा सरकारले २६ वटा गुम्बाका लागि १६ करोड बजेट दिएकाले त्यसलाई अगाडि बढाउन सक्ने अवस्था नरहेको महानिर्देशक गौतमको भनाइ थियो । उहाँले एउटा गुम्बाको पुनर्निर्माण गर्न करिव ७ देखि ८ करोडसम्म लाग्ने अवस्था रहेकोतर्फ पनि सांसदहरूको ध्यानाकर्षण गराउनुभयो ।
विभागका अनुसार पूरातात्विक महत्वका सम्पदाहरूको पुनर्निर्माणका लागि बजेटको साथै विज्ञताको पनि अभाव छ ।
विभागले जनकपुरस्थित रामजानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्ने कामलाई पनि अघि बढाएको छ । महानिर्देशक गौतमले भगवान गौतम बुद्धको जन्मस्थल लुम्विनीको तिलौराकोटलाई पनि विश्व सम्पदा सूचिमा सूचिकृत गर्नका लागि प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।
विभागले सम्पदाहरूको उत्खनन तथा संरक्षण कार्यलाई अघि बढाउन बजेट, जनशक्ति र विज्ञताको अभाव रहेको उल्लेख गर्दै त्यसको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । बैठकमा बोल्दै सांसदहरूले सम्पदाहरूको पुनर्निर्माणको कामलाई अघि बढाउने गरी आवश्यक योजना बनाउन नसकेको भन्दै विभागको आलोचना गर्नुभएको थियो ।
पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले हाम्रा सम्पदाहरू पर्यटनसँग जोडिएको भन्दै त्यसको संरक्षण र विकासमा आवश्यक योजना बनाउन ढिलाइ गर्न नहुने बताउनुभयो । उहाँले रामजानकी मन्दिर, लुम्बिनीलगायतका सम्पदाहरूको उचित व्यवस्थापनमा ध्यान दिन पनि विभागलाई सचेत गराउनुभयो ।
नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले विभागले सम्पदाहरूको संरक्षण हुनेगरी योजनावद्ध ढंगले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले पुरातात्विक महत्वका सम्पदाहरूको संरक्षण कार्यमा गम्भीर भएर लाग्नुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो ।
सांसद राजभण्डारीले सिंहदरबारस्थित ग्यालरी बैठकको पुनर्निर्माणमा अझै ध्यान दिन नसकेको भन्दै आपत्ति जनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्