१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिप्यानको विज्ञप्ति : ‘खेलाडीमाथिको कारबाहीले क्रिकेटको विकासमा अवरोध पुग्नसक्छ’


78
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीमाथि गरेको कारबाहीमा क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)ले आपत्ति जनाएको छ ।

क्रिकेट खेलाडीलाई गरिएको कारबाहीले नेपाली क्रिकेटको विकासमा अवरोध पुग्नसक्ने सिप्यानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

क्यानले गत मंसिर २९ गते अनुशासनको कारण देखाउँदै ज्ञानेन्द्र मल्ललाई कप्तान र दिपेन्द्र सिंह ऐरीलाई उपकप्तान पदबाट पदमुक्त गरेको थियो ।

मल्ल र ऐरीसँगै सोमपाल कामी र कमलसिंह ऐरीलाई सन् २०२२ को केन्द्रीय सम्झौतामा सुरुको छ महिना सहभागी नगराउने निर्णयसमेत गरेको थियो ।

खेलाडीले आफ्ना भावना तथा आवाज अगाडि राख्न खोज्दा मागको उचित सम्बोधन गर्नुको सट्टा खेलाडीमाथि नै गरिएका कारबाहीले नेपाली क्रिकेटको विकासमा अवरोध पुग्न जाने अवस्था सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी सिप्यानले क्रिकेट खेलाडीको वर्गीकरण जस्तो महत्वपूर्ण विषयलाई पारदर्शी, तर्कसम्मत, त्रुटिरहित, तथ्यपरक र वैज्ञानिक बनाइनुपर्ने मागसमेत गरेको छ ।