
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र संकटमा पर्न थालेको भनि भइरहेको प्रचारलाई ‘नियोजित हल्ला’ को संज्ञा दिनुभएको छ ।
अर्थ मन्त्रालयमा आयोेजित पूँजीगत खर्च सम्बन्धी अन्तरमन्त्रालयगत छलफलमा उहाँले मुलुकको अर्थतन्त्रका सूचकहरूमा संकट आएको भनि भ्रम छर्न खोजिएको बताउनुभयो । पुँजीगत खर्चको स्थिति कमजोर भएको सत्य भएपनि अन्य सूचकहरू संकटमा रहेको भन्ने विषय नियोजित हल्ला भएको उहाँको भनाइ छ ।
तरलता अभाव हटाउन पनि पुँजीगत खर्च बढाउन भने आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो । मन्त्री शर्माले पुँजीगत खर्चको गति बढाउन वन तथा वातावरणसँग सम्बन्धित विद्यमान ऐन, नियम संशोधन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले पुस महिनाभित्र आ–आफ्नो मन्त्रालयको पुँजीगत खर्च ३० प्रतिशत पु¥याउन विभिन्न मन्त्रालयलाई आग्रह गर्नुभयो ।
पुँजीगत खर्च बढाउन अर्थ मन्त्रालयले गर्नुपर्ने सहमति, समन्वयलगायतका कार्यहरू समयमै गर्ने प्रतिवद्धता जनाउनुभयो । पुँजीगत खर्च गर्न नसक्ने मन्त्रालयको बजेट रकमान्तर गरी खर्च भइरहको ठाँउमा पठाइदिने तयारी भइरहेको जानकारीसमेत मन्त्री शर्माले दिनुभयो ।
यस्तै उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रममा दिइने गरेको ५ सय १७ रुपैयाँ दैनिक ज्याला ज्यादै कम भएकोले त्यसलाई बढाएर १ हजारको आसपास पु¥याउने गरी कार्यविधि बनाउन श्रम मन्त्रालयलाई आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्