
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आजको बैठक पनि अवरोध गरेको छ ।
आफ्नो पार्टीले कारबाही गरेको सांसदहरूकाे सूची सभामुख अग्निप्रसाद सापकोटाले प्रकाशित नगरेकाे भन्दै एमालेले मंगलबार बोलाइएको बैठक पनि अवरुद्ध गरेको हो ।
एमाले सांसदहरूको विरोधका बीच सांसद प्रेम सुवालले ‘यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्’ भन्ने सूचना प्रतिनिधिसभामा पेश गर्नुभयो ।
सुवालकाे प्रस्ताव बहुमतले अस्वीकृत भएकाे छ ।
यसैगरी, कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले पेश गर्नुभएकाे ‘यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश’ पनि बैठकले स्वीकृत गरेकाे छ ।
गत भदौ २३ मा संसद बैठक सुरु भएयता एमालेले निरन्तर बैठकमा विरोध गरिरहेको छ । प्रतिनिधिसभाकाे अर्काे बैठक पुस ७ गते दिउँसाे १ बजे बस्नेछ ।
प्रतिक्रिया दिनुहोस्