१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मिलन पाण्डे विवेकशील साझा पार्टीबाट निष्कासित


1.287k
Shares

काठमाडौं । विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई पार्टीबाट निष्कासन गरेको छ । मंगलबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पाण्डेलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।

पार्टीलाई गम्भीर क्षति पुर्‍याउने गरी बदनियतपूर्वक पार्टी विधान र केन्द्रीय समितिका निर्णयहरू विपरीतको गतिविधि लगातार जारी राखेको तथा केन्द्रीय समितिको बैठकमा निरन्तर अनुपस्थित भएको कारण देखाउँदै पाण्डेलाई निष्कासित गरिएको अध्यक्ष रवीन्द्र मिश्रले जानकारी दिनुभयो ।

पार्टीले सोधेको स्पष्टिकरणको जवाफ समयसीमाभन्दा एक दिन ढिलो गरी सञ्चारमाध्यमबाट गरिएको असन्तुष्टि प्रकट गर्दै स्पष्टिकरणमा प्रश्नको यथार्थ, तथ्यपरक र चित्तबुझ्दो जवाफ नआएको केन्द्रीय कार्य सम्पादन समितिले ठहर गरेको छ ।

यस्तै, पार्टीका निर्णय र नेतृत्वप्रति अनर्गल र भ्रमपूर्ण टिप्पणीसहित निकृष्ट व्यक्तिगत आरोप लगाउने कार्य जारी राखेको र समानान्तर समिति नै घोषणा गरेकाले पाण्डेलाई कारबाही गरिएको अध्यक्ष मिश्रद्वारा पाण्डेलाई प्रेषित पत्रमा उल्लेख छ ।

पत्रमा पाण्डेले प्रयोग गर्दै आएको पार्टीको नाम, लेटरहेड, छाप, चुनाव चिन्ह तथा पार्टीसँग सम्बन्धित कुनै पनि सामग्री प्रयोग नगर्न र गरेमा प्रचलित कानुन बमोजिम कारबाही अघि बढाइने चेतावनीसमेत दिइएको छ ।

अध्यक्ष मिश्रले ‘विचारभन्दा माथि देश’ नामक राजनीतिक प्रस्ताव सार्वजनिक पाण्डेले असन्तुष्टि प्रकट गर्दै आउनुभएको थियो । प्रस्तावमा संघीयता खारेजी र धर्म निरपेक्ष र राजसंस्थाको विषयमा जनमतसंग्रह गर्नुपर्ने लगायतका विषय समेटिएको थियो । जसकाे पाण्डेले तीव्र विरोध गर्नुभएकाे थियाे ।