२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


उपत्यकासहित देशका अधिकांश स्थानमा हिउँदे वर्षा

कणार्लीमा हिमपात, हवाई उडान प्रभावित

520
Shares

काठामडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा गए रातीदेखि वर्षा भइरहको छ । केही दिन यता मौसममा बदली आएकोमा गए रातीदेखि वर्षा हुन थालेको हो ।

आज देशैभर सामान्य देखि पूर्ण बदली रहेको र धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वर्षासंगै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात शुरु भएको छ । काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा पनि आज बिहानैबाट वर्षा भइरहेको छ । उपत्यकाका अग्ला पहाडहरु फूल्चोकी र चन्द्रागिरीमा हिमपात भएको छ ।

वर्षा र हिमपातले देशैभर तापक्रम ह्वात्तै घटेको छ भने जाडो बढ्दा जनजीवन कष्टकर बनेको छ । वर्षाका कारण हवाई यातायात पनि प्रभावित भएको छ । मौसमविद्हरुले उच्च पहाडी तथा हिमाली क्षेत्रको जनजीवनमा प्रतिकूल प्रभाव पर्नसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । विशेषगरी पर्वतारोहणमा गएकाहरुले सतर्क बन्नुपर्ने सुझाव दिइएको छ ।

कर्णालीको हिमाली र उच्च पहाडी क्षेत्रमा गएरातिदेखि हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ । उपल्लो डोल्पा, मध्य डोल्पाका साथै जाजरकोटको बारेकोट र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको माथिल्लो क्षेत्रमा हिउँ परिरहेको छ ।

कर्णालीमा हिमपात

कर्णालीका अन्य हिमाली जिल्ला मुगु र हुम्लामा पनि केही दिन पहिलेदेखि नै हिमापात भइरहेको छ । हिमपातसँगै अधिकांश ठाउँको टेलिफोन सेवा समेत प्रभावित भएको छ । बिहानैदेखि यी जिल्लाको चहलपहल ठप्प भएको त्यहाँस्थित प्रहरी कार्यालयले जनाएका छन् ।

आकाशे पानीको भरमा खेती गर्ने किसानहरू भने पानी पर्दा खुशी भएका छन् । वर्षाका कारण गहुँ बाली र तरकारी खेतिलाई राहत भएको छ । हिमपातले जनजीवन भने प्रभावित बनाएको छ । उच्च भागमा लगातारको हिमपातले काम ठप्प भएपछि जनजिवन कष्टकर बनेको हो । चिसो अत्यधिक बढेको ठाउँमा विद्यालयहरु बन्द गरिएका छन् । यातायात सेवा प्रभावित भएको छ भने पुशचौपायाको चरनमा समेत समस्या हुन थालेको छ ।