
प्रकाश नेपाल /प्रकाश पाक्साँवा (लिम्बु)
इलाम/तेह्रथुम । इलाम र तेह्रथुममा यति बेला हिउँ खेल्न जाने पर्यटकको घुइँचो लागेको छ । बाक्लो हिमपातका कारण जनजीवन प्रभावित भएपनि हिउँ खेल्न जाने आन्तरिक पर्यटकको लर्को नै लाग्न थालेको हो ।
वर्षापछि खुलेको मौसममा इलामको पाटेनागीमा यतिबेला बाक्लो हिउँ जम्मा भइसकेको छ । ३ हजार ५४ मिटर उचाइँमा रहेको पाटेनागी क्षेत्रबाट चाँदीझैं टल्किने हिमशृंखलासँगै सुर्योदय र सुर्यास्तको मज्जा लिन सकिन्छ । पाटेनागी मात्र नभएर पाँचथर र इलामको सिमामा पर्ने लोहाकिल डाँडा, सुकेपोखरी आसपासका घरका छाना, रुख–बिरुवा, भिरालो जमिन, खोंच, सडक सबै हिउँले सेताम्य बनेका छन् । बढ्दो चिसोसँगै स्थानीयको जनजीवन केही कष्टकर बने पनि पर्यटक भने हिउँसँग निकै रमाएका छन् ।
यता हिउँले सेताम्यै बनेको तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल टिएमजे (तिनजुरे मिल्के जलजले) क्षेत्रमा पनि यतिबेला पर्यटकहरु हिउँमा रमाई रहेका छन् । मंगलबार र बुधबार पानीसँगै परेको बाक्लो हिउँमा स्थानीय तथा पुर्वी तराईका विभिन्न जिल्लाका पर्यटकको घुँइचो देखिएको छ । मंसिरको अन्तिर सातादेखि फागुनको पहिलो सातासम्म हिउँ पर्ने सिजन हो ।
खासगरी हिउँ पर्ने र गुराँस फुल्ने सिजनमा यो क्षेत्र पर्यटकको मुख्य रोजाइमा पर्दै आएको छ । तिनजुरे पाँचपोखरी, मंगलवारे, चौकी गुफापोखरीमा बाक्लो हिउँ परेका कारण अझ केही दिनसम्म हिँउ रहने स्थानीय बताउँछन । पर्यटकहरुको आगमनसँगै यहाँको पर्यटन व्यावसायसमेत फस्टाएको छ । टिएमजे पर्यटकहरुको मुख्य रोजाईमा पर्दै आएको परिचित गन्तव्य हो ।
इलाम र तेह्रथुमको बाक्लो हिउँमा कोही हिउँको डल्लोसित खेल्दै, कोही सेल्फी खिँच्दै त कोही टिकटक बनाउँदै गरेको दृश्यले वातावरण नै मनमोहक देखिन्छ । हिमपातपछिको चिसोले भने यस क्षेत्रका व्यवसायी तथा पशुपालक कृषक समस्यामा परेका छन् भने बालबालिका तथा वृद्धवृद्धा प्रभावित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्