१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धन मिल्दा एमालेलाई आफ्नो सिट सुरक्षित राख्न चुनौती

क–कसको सकिदैछ कार्यकाल ?

5.837k
Shares


काठमाडौं । राजनीतिक दलहरु आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनको तयारीमा लागेका छन् ।

आगामी फागुन २० गते राष्ट्रिय सभाका २० जना सांसदको पदावधि सकिदैछ । जसमा १९ जना विभिन्न राजनीतिक दलबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्नेछन् भने १ जना राष्ट्रपति विद्यादेवी भण्डारीबाट मनोनित भएका सांसद छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलहरु मिलेरै जाने बताइसक्नु भएको छ ।

उता प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने निर्वाचनमा एक्लै जाने संभावना रहेको छ । विगतमा एमाले र माओवादी मिलेका कारण राष्ट्रिय सभामा कांग्रेसका सांसद थोरै थिए । तर अब तत्कालका लागि एमाले र माओवादी मिलेर जाने संभावना देखिएको छैन भने एमाले पनि विभाजित भएर माधव कुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी गठन भैसकेको छ । जो अहिले सत्ता गठबन्धनमा सामेल छ ।

पदावधि सकिनु एक महिना अघि निर्वाचन गर्नुपर्ने भएकाले निर्वाचन आयोगले माघ १२ गते निर्वाचन सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ । जस अनुसार आयोगले यहि पुस २० गते उम्मेदवारको उम्मेदवारी दर्ताको कार्यक्रम तोकेको छ । उम्मेदवारी दर्ताको दिन नजिकिदै गर्दा राजनीतिक दलहरु आन्तरिक छलफलमा जुटेका छन् । सत्ता गठबन्धमा नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी,जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन् ।

माओवादी केन्द्रको आठौं महाधिवेशन जारी रहेकाले अरु दलहरु आन्तरिक छफफलमा रहेका छन् । माओवादीले पनि महाधिवेशन सकिने वित्तिकै राष्ट्रिय सभाको तयारी गर्ने माओवादीका एक नेताले इमेज खबरलाई जानकारी दिए । उता एमाले र लोकतान्त्रिक समाववादी पार्टी पनि आन्तरिक छलफलमा लागेका छन् ।

तर कसैले पनि उम्मेदवार भने चयन गरिसकेका छैनन् । फागुन २० मा नेकपा एमालेका ८,नेपाली कांग्रेसका ३,एकीकृत समाजवादीका ४,माओवादी केन्द्रका ४ र एकजना राष्ट्रपतिबाट मनोनित सांसदको कार्यकाल सकिदैछ ।

नेकपा एमालेका पदावधि सकिने सांसद यी हुन् :

१.अगम प्रसाद बान्तावा राई,
२.कविता बोगटी
३. कोमल वली
४. चक्रप्रसाद स्नेही
५. नैनकला ओझा
६. परशुराम मेघी गुरुङ
७.रामलखन चमार
८. सुमनराज प्याकुरेल रहेका

नेपाली कांग्रेसका पदावधि सकिने सांसदहरु :

१.राधेश्याम अकिारी
२.तारादेवी भट्ट
३.दृग नारायण पाण्डे

नेकपा एकीकृत समाजवादीका पदावधि सकिने सांसदहरु :

१.उदया शर्मा पौडेल
२. ठगेन्द्र प्रसाद पुरी
३. शान्तिकुमारी अधिकारी
४ शेरबहादुर कुँवर

माओवादी केन्द्रका पदावधि सकिने सांसदहरु :

१. खिमकुमार विक,
२. जीवन बुढा
३. दीनानाथ शर्मा
४. शशिकला दाहाल

राष्ट्रपतिबाट मनोनित सांसदः

१.रामनारायण विडारी

सत्ता गठबन्धनले यसरी गर्दैछन् भागबण्डा

राष्ट्रिय सभाको निर्वाचनका लागि माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ७ वट प्रदेशमा निर्वाचन हुँदैछ । यो निर्वाचनमा प्रदेश सांसद र गाउँ तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता रहनेछन् । यो निर्वाचनमा मतभारको गणना हुन्छ । एकजना प्रदेश सभा सांसद बराबर ४८ मतभार र गाउँ तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको १८ मतभार हुन्छ । नेपाली कांग्रेसका एक नेताका अनुसार सत्ता गठबन्धनमा रहेका दलहरुबीच कांग्रेसलाई ८ सीट,माओवादी र एकीकृत समाजवादीलाई ५/५ सिट र जनतासमाजवादीलाई १ सिट भागमा पर्ने गरी छलफल गर्ने तयारी भइरहेको छ । राष्ट्रिसभा निर्वाचनमा सातै प्रदेशमा मतदान केन्द्र रहनेछन् ।

एमालेलाई चुनौती:

उता सत्ता गठबन्धनमा रहेका दलहरु एकजुट हुँदा एमालेलाई आफ्नो ८ सिट जोगाउन चुनौती देखापरेको छ । विगतमा एमालेले माओवादी केन्द्रको सहयोगमा राष्ट्रिय सभामा आफ्नो पार्टीका धेरै सांसद पठाउन सकेको थियो । तर अहिले माओवादी र एमाले मिल्ने संभावना छैन भने एमाले विभाजित भएपछि एमालेका केही प्रदेश सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुख एकीकृत समाजवादीमा गइसकेका छन् । त्यसकारण सत्ता गठबन्धन मिल्दा उसलाई आफ्नो ८ सिट जोगाउन धेरै कठिन छ ।

७ प्रदेशमा यस्तो छ मतभार :

प्रदेश– १

प्रदेश नम्बर १ मा एमाले एक्लैको मतभार बढी छ । त्यहाँ एमालेको ४ हजार ५ सय ४२ मतभार छ । नेपाली कांग्रेसको २६ सय १०,नेकपा एकीकृतको ६सय ७८,माओवादीको ९ सय ६०,जनता समाजवादी पार्टीको २ सय १६,राप्रपाको २ सय १०, सवस्तन्त्र सांसद १ जनाको ४८,संयुक्त लोकतान्त्रिक पोरमको १ सय २६ र संयुक्त लोकतान्त्रिक राष्ट्रियमंचको ४८ मतभार छ । प्रदेश १ मा ९२ जना प्रदेश सांसद र गाउँ र नगरपालिकाका प्रमुख र उपप्रमुख गरी २७२ मतदाता छन् । एमाले बाहेकका सबै दल मिलेको खण्डमा मात्रै प्रदेश १ मा उसको भन्दा केही बढी मतभार देखिन्छ ।

प्रदेश –२
प्रदेश २ मा १ सय ४ जना प्रदेश सभा सांसद छन् । स्थानीय तहबाट २ सय ६८ मतदाता छन् । जसमा कांग्रेसको मतभार २२ सय ६२,जनता समाजवादी पार्टीको २९ सय ८८,एमालेको ९ सय ४२, माओवादी केन्द्रको ११ सय ९४, नेकपा एकीकृत समाजवादीको ७ सय ५०, लोकतान्त्रि समाजवादी पार्टीको १५ सय ६०, लोकतान्त्रिक फोरमको १ सय ८,संघीय समाजवादी पार्टीको ४८ र स्थानीय तहबाट स्वतन्त्र रहेकाको ३६ मत छ । यहाँ सत्ता गठबन्धन मिल्दा अरु पछाडि देखिन्छ ।
बागमती प्रदेश:

बागमतीमा एमालेको ४१ सय ५२ मतभार हुँदा काँग्रेसको २२ सय ६२ मतभार छ । त्यस्तै माओवादी केन्द्रको १६ सय ९८ मतभार छ भने विवेकशील साझाको १ सय ४४ मतभार छ । नेकपा एकीकृत समाजवादीका १३ जना प्रदेश सांसद र केही गाउँ र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता छन् । यसैगरी राप्रपाको १ सय ३२, नेपाल मजदुर किसान पार्टीको ९६ मतभार छ भने एक स्वतन्त्र प्रदेश सांसद र २ जना स्थानीय तहबाट गरी स्वतन्त्र ८४ मतभार छ ।

बागमतीमा १ सय ९ जना प्रदेश सांसद छन भने गाउँ र नगरपालिकाका प्रमुख र उपप्रमुख गरी २ सय ३७ मतदाता रहेका छन् ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा स्थानीय तहबाट १ सय ७० मतदाता रहेका छन् भने प्रदेश सभाबाट ५९ जना मतदाता छन् । यहाँ कुल ५ हजार ८ सय ७४ मतभार छ । गण्डकीमा एमालेको सबैभन्दा धेरै २५ सय ३८ मतभार छ । काँग्रेसको २१ सय ७८ मतभार छ भने नेकपा एकीकृत समाजवादीका प्रदेश सांसद छैनन् भने स्थानीय तहबाट पनि सो पार्टीमा लागेकाको एकीकृत डाटा आएको छैन । यो प्रदेशमा माओवादी केन्द्रको ७ सय ९२, जनता समाजवादीको ९६,स्वतन्त्रको १ सय ३८ मतभार, राष्ट्रिय जनमोर्चाको ९६ र राप्रपाको १८ मतभार रहेको छ ।

लुम्बिनी प्रदेश

लुम्विनीमा काँग्रेसको २ हजार ६४, एमालेको ३२ सय ७६ मतभार, माओवादीको १६ सय ५०, नेकपा एकीकृत समाजवादीको १ सय २०, जनता समाजवादीको ३ सय २४, लोकतान्त्रिक समाजवादीको ३६, राष्ट्रिय जनमोर्चाको ४८, राप्रपाको ३६, लोकतान्त्रिक फोरमको ३६, एक स्वतन्त्र सांसद ४८ तथा स्वतन्त्र १ सय २६ मतभार छ ।

सुदुर पश्चिम प्रदेश

सुदुरपश्चिममा कूल ५ हजार ६ सय ६४ मतभार छ । काँग्रेसको मतभार १८ सय ७२, एमालेको १७ सय ८८, माओवादी केन्द्रको ९ सय ६६, नेकपा एकीकृत समाजवादीको ९ सय ६, जनता समाजवादीको ४८, लोकतान्त्रिक समाजवादीको ४८, लोकतान्त्रिक फोरमको ३६ मतभार रहेको छ ।

कर्णाली प्रदेश
कर्णाली प्रदेशमा कुल ४ हजार ५ सय २४ मतभार रहेको छ । त्यहाँ सत्ता गठबन्धनमा सामेल दलहरुको नै बढी मतभार छ ।