
स्याङ्जा । नेकपा एमालेले आठौं जिल्ला अधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ ।
पुस २३ गते हुने अधिवेशनको लोगो र नारामा जिल्ला विभिन्न ऐतिहासिक तथा पर्यटकीय स्थल समेटिएको प्रचारप्रसार उपसमितिका संयोजक राजेन्द्र डुम्रेले जानकारी दिनुभयो ।
‘मार्गदर्शन समाजवादको आधार ! रुपान्तरण र समृद्धिमा एमाले हो मूल धार !!’ नारा तय गरेको अधिवेशनले कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना र श्रवणकुमारको दहलाई लोगोमा समावेश गरेको छ ।

अधिवेशन सम्पन्न गर्न मञ्च व्यवस्थापन, प्रचारप्रसार, प्रतिवेदन लेखन, स्वयंसेवक परिचालन, आवास तथा खाजा खाना, र अतिथि सत्कार गरी सातवटा उपसमिति बनाइएका छन् ।
अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल विधिबाट उद्घाटन गर्ने संयोजक डुम्रेले जानकारी दिनुभयो । अधिवेशनका लागि १७ गते वडा, १८ गते पालिका र १९ गते जिल्ला प्रतिनिधि छनोट गरिनेले उहाँले बताउनुभयो ।
अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, २ उपसचिव सहित १ सय ५ सदस्यीय जिल्ला कार्यसमिति चयन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्