२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


भारतबाट गरिने आयातमा एलसीको सीमा घटाइयो, डलर सटहीमा पनि व्यवसायीलाई थप सुविधा


195
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले भारतबाट वस्तु आयात गर्दा लाग्ने प्रतीतपत्र (एलसी) रकमको सीमा घटाएको छ ।

राष्ट्र बैंकले हिजो सूचना जारी गरेर भारतबाट ५ करोड रुपैयाँभन्दा बढीको वस्तु आयात गर्दा मात्र अनिवार्य रूपमा एलसी खोल्नुपर्ने यसअघिको व्यवस्थालाई तीन करोड रुपैयाँमा सीमित गरेको छ । विदेशी मुद्रा सञ्चितिको घट्दो क्रमलाई कम गर्न राष्ट्र बैंकले नीति परिमार्जन गरिरहेको छ ।

सोही क्रममा भारतीय मुद्रामा खोलिने एलसीको सीमा पनि घटाइएको हो । नेपालको कुल व्यापारमा झण्डै ६० प्रतिशत हिस्सा भारतसँग छ । रेमिट्यान्सलगायत कारण चालु खाता र शोधनान्तर स्थिति घाटामा छन् । यस्तै विदेशी मुद्रा सञ्चिति पनि लगातार घटिरहेको छ ।

विद्युतीय भुक्तानी प्रणाली लागू भई विद्युतीय माध्यमबाट मात्र भन्सार राजस्व लिने व्यवस्था भएका भन्सार कार्यालयमार्फत हुने आयातको हकमा चेक जारी गर्न नपाइने व्यवस्था पनि राष्ट्र बैंकले यसअघि गरेको थियो ।

नेपाली नागरिक तथा नेपालमा विधिवत् दर्ता भएका फर्म, कम्पनी, संघ संस्थाले भारतस्थित नियोग, संघ, संस्था, कम्पनीसँग लिने विभिन्न सेवा शुल्क भुक्तानीका लागि भारतीय रुपैयाँ ३ लाखसम्मको सटही सुविधा पाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

यसअघि यस्तो सीमा १ लाख भारतीय रुपैयाँ थियो । गत बुधबार राष्ट्र बैंकले एक निर्देशन जारी गरेर राहदानीका आधारमा प्रदान गरिने सटही सुविधा पनि एक वर्षमा दुई पटकसम्म पाइने व्यवस्था गरेको छ ।