
चितवन । जिल्लाम आज नवौं पोल्ट्री दिवस २०७८ मनाइएको छ । नेपाल कुखुरा व्यवसायी मञ्च चितवन र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय बागमती प्रदेशको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव डा.शरण पाण्डेले प्रदेशले आफ्नै पोल्ट्री विकास ऐन ल्याउने जानकारी दिनुभयो । सैद्धान्तिक सहमतिका लागि मन्त्रिपरिषद्मा पठाइएको र केही दिनमा सहमति आएपछि पोल्ट्री विकास ऐन बनाउने उहाँको भनाइ छ ।
ऐन निर्माणपछि प्रदेशमै आधुनिक पोल्ट्री प्रयोगशाला निर्माण गर्ने र प्रदेशमै पोल्ट्री विकास बोर्ड गठन गर्ने सचिव पाण्डेले बताउनुभयो । सरोकारवालाहरूसँग व्यापक छलफल गरी ऐन बनाउने र त्यसले हाल विद्यमान नीतिगत समस्या समाधान हुनेमा उहाँको जोड थियो ।
कार्यक्रममा बोल्दै नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले जुनसुकै सरकार आए पनि कुरा गर्ने काम नगर्ने प्रवृत्तिले व्यवसायीहरू हैरान भएको बताउनुभयो । कुखुराका लागि आवश्यक खोप ल्याउन नीतिगत सहमति नदिएर सरकारले चोर बाटो प्रयोग गर्न प्रोत्साहित गरेको उहाँको भनाइ छ ।
पोल्ट्री उत्पादनमा देश आत्मनिर्भर भइसकेको दाबी गर्दै अध्यक्ष विष्टले सरकारले नीतिगत समस्या समाधान गरिदिए विदेश निर्यात पनि सम्भव भएको जिकिर गर्नुभयो ।
कार्यक्रममा डा. भोजराज अधिकारीले दैनिक दुई वटा अण्डा प्रयोग गर्न सुझाव दिनुभयो । प्रोटिनका लागि कुखुराको मासु धेरै उत्तम हुने उहाँको भनाइ छ ।
कार्यक्रममा चार वटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्