
काठमाडौं । मनाङ मर्स्याङ्दी क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । पोखरा रंगशालामा ब्रिगेड ब्वाइज क्लबलाई १–० गोल अन्तरले हराउँदै मनाङ शीर्ष स्थानमा उक्लिएको हो ।
मनाङलाई जित दिलाउन कप्तान अन्जन विष्टले निर्णायक गोल गरे । ब्रिगेड पेनाल्टीमा गोल गर्न नसक्दा पराजित हुन पुग्यो । यो जितसँगै मनाङले एएफसी कप छनोट खेल्ने सम्भावना कायम राखेको छ ।
मनाङले ७ खेलमा १६ अंक जोडेको छ । ब्रिगेडले ७ खेलमा ५ अंक जोडेको छ ।
शनिबार नै भएको पहिलो खेलमा थ्री स्टार क्लबले जावलाखेल युथ क्लबलाई २–१ गोल अन्तरले हराएको थियो ।
थ्री स्टारलाई जित दिलाउन आयुष घलान र ऋतिक कुमार खड्काले एक–एक गोल गरे । जावलाखेलका निकोलस फर्नान्डेसले एक गोल फर्काए । जारी लिगमा थ्री स्टारको यो दोस्रो जित हो ।
जितसँगै थ्री स्टार लिगको पाँचौं स्थानमा उक्लिएको छ । थ्री स्टारले ७ खेलमा १० अंक जोडेको छ । जावलाखेलले ७ खेलमा ७ अंक जोडेको छ ।
प्रतिक्रिया दिनुहोस्