
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जामा भइरहेको वृद्धि रोक्न मार्गदर्शन जारी गर्ने भएको छ । यसका लागि राष्ट्र बैंकले मार्गदर्शनको मस्यौदा समेत तयार पारी सरोकारवालाहरुसँग सुझाव माग्न थालेको छ ।
पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा लगानी योग्य रकमको अभाव भएपछी राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा नै शेयर बजार लगायत क्षेत्रमा जाने कर्जामा कडाइ गर्दै आएको छ ।
पछिल्लो समय आयातमा कडाइ गरेको राष्ट्र बैंकले चालु पुँजी कर्जामा पनि कडाइ गर्न खोजे पछि व्यवसायीहरुले आपत्ति जनाएका थिए । व्यवसायीहरुले सामान स्टक गर्न भन्दै लिएको ऋण अन्यत्र लगानी गरेको पाइएपछि मार्गदर्शन आवश्यक परेको राष्ट्र बैंकको प्रष्टिकरण छ ।
राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट चालु पुँजी कर्जा व्यवस्थित गर्नका लागि मार्गदर्शनको मस्यौदा तयार पारिएको बताउँछन् । सरोकारवालाहरूसँग सुझाव लिएरमात्रै पारित हुने बताउनु भएको छ ।
मार्गदर्शनमा चालु पुँजी कर्जाको सीमा निर्धारण तथा अनुगमन कार्यले बैंक तथा वित्तीय संस्थाहरूको चालु पुँजी कर्जामा एकरूपता कायम गर्ने, कर्जा स्वीकृति प्रक्रिया एवं कर्जाको उपयोगलाई पारदर्शी बनाउने र कर्जा सदुपयोग यकिन गर्न सकिने आधारभूत पद्धति विकास गर्न सहज हुने उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्