१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्तारूढ गठबन्धनले तालमेल गर्ने, कसलाई कति सिट ?


650
Shares

काठमाडौं । आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्तारूढ गठबन्धनले तालमेल गर्ने भएका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले संयुक्त रूपमा उम्मेदवारी दिने निर्णय गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठकले तालमेल गरेर जाने निर्णय गरेका हुन् ।

राष्ट्रिय सभामा २० सदस्यको पदावधि यही फागुनमा सकिँदैछ । नेकपा एमालेका ८, कांग्रेसका ३, एकीकृत समाजवादी र माओवादीका चार/चार र एक जना मनोनीतको पदावधि सकिने भएपछि ती पदमा निर्वाचन गर्न लागिएको हो ।

राष्ट्रिय सभामा मनोनित तीन जनामध्ये रामनारायण बिडारीको पदावधि सकिँदैछ । मनोनितबाहेक रिक्त १९ पदमा सत्तारूढ गठबन्धनले भागबन्डा गरेका छन् । पहिले जुन पार्टीबाट सदस्य रिक्त भएको हो त्यो उक्त पार्टीलाई नै दिने र बाँकी रहने ८ सिटमा भने भागबण्डा गरिएको छ ।

जसअनुसार कांग्रेसका तीन, एकीकृत समाजवादी र माओवादीका चार÷चार सिटमा उम्मेदवारी दिन पाउनेछन् । एमालेबाट रिक्त ८ सिट भने सत्ता गठबन्धनले भागबण्डा गरेर उम्मेदवार उठाउने भएका छन् । भोलि उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ । सातै प्रदेशमा निर्वाचन आयोगले निर्वाचन अधिकृत कार्यालय खोलिसकेको छ ।

सत्तारूढ गठबन्धनले तालमेल गरेअनुसार कांग्रेसले छ जना उम्मेदवार तय गर्नुपर्ने हुन्छ । नेकपा माओवादीले पाँच र नेकपा एकीकृत समाजवादीले पनि पाँच सिटमा उम्मेदवार उठाउनुपर्ने हुन्छ । त्यस्तै जसपाले दुई उम्मेदवार उठानेछ भने राष्ट्रिय जनमोर्चाले एक सिटमा उम्मेदवार उठाउनेछ ।

राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेले पनि उम्मेदवारहरू उठाउन प्रदेशहरूबाट उम्मेदवारको नाम मागेको छ ।