
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको ढिलासुस्तीले संघीय राजधानी काठमाडौंमा सर्वसाधारण अघोषित लोडसेडिङको मारमा परेका छन् ।
प्राधिकरणकाे सुस्त काम गर्ने गतिले बालाजुस्थित माछापोखरीका स्थानीय पछिल्लो चार दिनदेखि नियमित लोडसेडिङ भोगिरहेका छन् । चार दिनदेखि दैनिक विद्युत् आपूर्तिमा अवरोध हुँदा व्यवसाय गर्नेदेखि घरबाटै काम गर्ने कर्मचारी र विद्यार्थी मारमा परेका छन् ।
‘लोडसेडिङ हुँदैन भनेर इन्भटर र ब्याट्री झिकेर बेचियो,’ कपडा पसल सञ्चालन गरिरहेका एक व्यवसायी भन्छन्, ‘अहिले लोडसेडिङ झैँ दिनकै बत्ती गैराछ ।’
दिउँसो केही समय आउने भएपछि साँझ परेपछि बिजुली जाने गरेको मसला उद्योग सञ्चालन गरिरहेका मोहन बस्नेत बताउँछन् ।
‘ग्राहक आउने समयमा बिजुली जाँदा व्यापार त घटेको छ नै आएका ग्राहक पनि भड्किने डर भयो,’ उनी भन्छन्, ‘पहिला बेलुकी साढे ८ बजेसम्म खोलिन्थ्यो, आजकल उज्यालो हुन्जेल खोलेर साँझमै बन्द गर्छौं ।’
माछापाेखरीस्थित २०० केभीएकाे ट्रान्सफर्मर
लोडसेडिङ नै हो भने तालिका निकालेर समय तोकेर गर्न उनीहरूको आक्रोशसहितको सुझाव छ ।
‘लोडसेडिङ नै हो भने तालिका निकालौं,’ एक निजी कम्पनीमा कार्यरत सुजन थापा भन्छन्, ‘घरबाट काम गर्न भनेर बस्यो, साँझ परेसी बत्ती जान्छ, लोडसेडिङको समयमा कम्तीमा बत्ती जानेआउने त ठेगान हुन्थ्यो ।’
पुस १६ गते पत्रकार सम्मेलन गर्दै प्राधिकरणका प्रबन्ध निर्देशन कुलमान घिसिङले सर्वसाधारणले चाहेअनुसार बिजुली प्रयोग गर्नुभएको थियो । साथै उहाँले उपत्यकाका देखिएको झ्याप–झ्याप बिजुली जाने समस्या सोही दिन साँझदेखि समाधान हुने बताउनुभएको छ ।
तर, घिसिङको उक्त भनाइलाई माछापोखरीस्थित घरघरमा झुण्डिएका करेन्टविनाका बत्तीले गिज्याइरहेको छ । बालाजुस्थित प्राधिकरणको वितरण केन्द्रमा फोन गर्दा स्थानीयले अझै छिट्टै बन्छदेखि अर्को जवाफ पाउँदैनन् । नोलाइटका कर्मचारी ट्रान्सफर्मरले लोड धान्न नसेकाले अर्को ट्रान्सफर्मर फेर्नुपर्ने जवाफ दिन्छन् ।
चार दिनदेखि बिजुली आपूर्तिमा देखिएको अवरोधको विषय आफूहरुको जानकारीमा रहेको बालाजु वितरण केन्द्रका प्रमुख बिधान पोख्रेलले बताउनुभयो । प्राधिकरणसँग बिजुली पर्याप्त रहेको दाबी गर्दै उहाँले ट्रान्सफर्मरको लोड धान्न नसक्दा माछापोखरीमा बिजुली जाने समस्या भएको जानकारी दिनुभयो ।
बालाजु वितरण केन्द्रका प्रमुख बिधान पाेख्रेल
पोख्रेलले आजै ट्रान्सफर्मर फेर्ने जानकारी दिँदै बेलुकादेखि बिजुली जाने समस्या नहुने बताउनुभयो । उक्त क्षेत्रमा २ सय केभीएको ट्रान्सफर्मर राखिएको र त्यसको सट्टामा ३ सय केभीएको ट्रान्सफर्मर आजै केन्द्रीय कार्यालयबाट ल्याएर राखिने उहाँको भनाइ छ ।
‘चार दिनदेखि त्यहाँ समस्या भएको हामीलाई जानकारी छ,’ उहाँले भन्नुभयो, ‘सामान्य ट्रिप होला भनेर पहिलो दिन विचार गर्यौं, दोस्रो दिन पनि समस्या आएपछि केन्द्रीय कार्यालयबाट ३ सय केभीएको ट्रान्सफर्मर मगाएका छौं, आजै फेर्छौं, बेलुकादेखि नियमित बिजुली आउँछ ।’
केन्द्र प्रमुख पोख्रेलले बिजुली ट्रिप हुँदा आधा घण्टासम्म धैर्य गर्न पनि सर्वसाधारणलाई आग्रह गर्नुभएको छ । आफूहरुको उद्देश्य कहिल्यै पनि बिजुली काटौं भन्ने नरहेको प्रष्ट पार्दै उहाँले प्राविधिक त्रुटी र ट्रिपिङको समस्याले काटिने जानकारी गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्