२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

संसद्को अवरोध हटाउने र एमसीसीका विषयमा छलफल

1.378k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

शनिबार बिहान भक्तपुरको बालकोटस्ठित ओली निवासमा दुई जनाबीच करिब १ घण्टा ‘वान टु वान’ वार्ता भएको हो ।

एमाले अध्यक्ष ओलीलाई भेट्न आज बिहान प्रधानमन्त्री देउवा ओली निवास भक्तपुरको बालकोट पुग्नुभएको थियो । भेटमा मुख्य गरी संसद्को अवरोध हटाउने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो ।

एमालेले पार्टीले कारबाही गरेका १४ सांसदको विषयलाई लिएर संसद् चल्न दिएको छैन । संसद्को बैठक पुस २८ गते बुधवारका लागि बोलाइएको छ । प्रधानमन्त्री देउवा र ओलीबीच भएको आजको भेटमा अमेरिकी सहायता परियोजना एमसीसी अगाडि बढाउने विषयमा पनि छलफल भएको बुझिएको छ ।

सत्तारुढ गठबन्धनको शुक्रबार बसेको बैठकले संसद्को अवरोध हटाउने विषयमा नेकपा एमालेसँग छलफल गर्ने जिम्मा प्रधानमन्त्री देउवालाई दिएको थियो । गठबन्धन समन्वय समितिको बैठकले गरेको निर्णय अनुसार ओलीसँग छलफल गर्न प्रधानमन्त्री आज बालकोट पुग्नुभएको हो ।

यसअघि बुधबार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बालकोट पुगेर ओलीलाई भेट्नु भएको थियो ।