
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले भूमिहीनता सदाका लागि अन्त्य हुनेगरी काम गर्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिनुभएको छ ।
मन्त्री श्रेष्ठले लक्षित वर्गले भरोसा गर्नेगरी काम सुरु गर्न आयोगलाई सचेत गराउनुभयो ।
राष्ट्रिय भूमि आयोगले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उहाँले आयोगको कामलाई सफल बनाउन आफ्नो मन्त्रालय र मातहतका सबै निकायले सम्पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको मात्रै नभएर मोही, विर्तालगायतको समस्या समाधान गर्न पनि सरकारले कुनै कसर बाँकी नराख्ने मन्त्री श्रेष्ठको भनाइ छ ।
कार्यक्रममा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले भूमिहीनहरूको समस्या समाधान हुनेगरी आयोगले कामलाई अघि बढाएको जानकारी दिनुभयो ।
निरौलाले भूमिहीनहरूको समस्या समाधान गर्न आयोगले स्थानीय सरकारसँग मिलेर काम गर्न लागेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्