
-नारायण पौडेल
पिता बोधप्रसाद र माता कुमुदिनीका जेठा छोराका रुपमा वि.सं. १९९६ साउन २८ गते विराटनगरमा जन्मिएका सुशील कोइराला वि.सं. २०७० साल माघ २७ गते प्रधानमन्त्री बनेका थिए । तत्कालिन काँग्रेस सभापति समेत रहेका कोइरालाको श्वासप्रश्वासमा उत्पन्न समस्याका कारण वि.सं. २०७२ माघ २६ गतेका दिन निधन भएको थियो । लामो समय अल्झिएको संविधान निर्माणले कोइरालाको नेतृत्वमा गति लिएपछि उनकै नेतृत्वमा वि.सं. २०७२ साल असोज ३ गते संविधानसभाबाट नेपालको नयाँ संविधान जारी भएको थियो र संविधान जारी भएपछि उनी सरकार बाट बाहिरिएका थिए । बीपी कोइरालाको प्रजातान्त्रिक समाजवाद बाट प्रभावित सुशील कोइराला २०१० सालदेखि नेपालको लोकतान्त्रिक आन्दोलनमा निरन्तर सक्रिय व्यक्ति हुन् ।
आन्दोलनकै क्रममा लामो समय जेलजीवन बिताएका कोइराला २०३६ सालमा काँग्रेस केन्द्रिय सदस्यका रुपमा जनमतसंग्रहमा बहुदलीय प्रजातन्त्रका पक्षमा अभियान चलाउने मुख्य अभियन्ता समेत थिए । पार्टीभित्र सक्रियताका साथ अनवरत रुपमा क्रियाशील कोइराला केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति, कार्यवाहक सभापति हुँदै पार्टी सभापति र प्रधानमन्त्री समेत बने । तर करिब ६ दशक लामो राजनीतिक जीवनमा सरकारी लाभको पदमा नरहेका सुशील निष्ठावान् सन्त नेताका रुपमा परिचित थिए । किनकी कोइरालाले ०४६ सालपछि काँग्रेस नेतृत्वमा पटकपटक सरकार बन्दा पनि मन्त्री पद अस्वीकार गर्दै आएका थिए । जुन उनका लागि असम्भव थिएन र जुनसुकै लाभको पद पनि प्राप्त गर्न सक्दथे ।
प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा नेपाली काँग्रेसका तत्कालिन सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको भौतिक शरीर वर्तमान समयमा हामीवीच नरहेपनि नेपाली राजनीतिमा उनको योगदान युग–युगसम्म अविस्मरणीय रहनेछ । किनकी संविधानसभाबाट संविधान निर्माण गर्नमा नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइराला निष्कलंक व्यक्ति पनि थिए । राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्तमा अविचलित र अविछिन्न रहेका उनले आफ्नो जीवनभर प्रजातन्त्र विरुद्ध कुनै कसैसँग सम्झौता गरेनन् । त्यस्तै त्याग र निष्ठाका पर्याय उनी जहिलेपनि सादा जीवन उच्च विचारमा रमाउँदै राजनीतिमा निरन्तर सहमति, सहकार्य, मेलमिलाप र एकताका आधारमा सबै समस्याको समाधान गर्नुपर्ने मान्यतामा समेत दृढ थिए ।
वि.सं.२०४८ सालको आमनिर्वाचनमा बाँके क्षेत्र नं. २ बाट संसदमा निर्वाचित कोइराला वि. सं. २०५६ को संसदीय निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । तर वि.सं. २०६४ सालमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा उनी बाँकेबाट पराजित भए । वि.सं. २०६८ साल असोजमा सम्पन्न काँग्रेसको १२ औं महाधिवेशनबाट पार्टी सभापति निर्वाचित भएका कोइराला वि. सं. २०७० मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा बाँके र चितवनबाट सभासदमा विजयी भई काँग्रेसले पहिलो पार्टीको हैसियत बनाएपछि प्रधानमन्त्री बनेका थिए । त्यसपछि उनको मुख्य काम संविधानसभाबाट नयाँ संविधान जारी गरी मुलुकलाई संक्रमणकालबाट मुक्त गराउनु थियो र त्यो अभिभारा उनले पुरा गरे । पूर्वप्रधानमन्त्री स्वर्गिय गिरिजाप्रसाद कोइरालासँग निकट रहेर काम गरेका सुशीलले सहमति, सहकार्य र एकताको मार्गबाटै मुलुकलाई नयाँ संविधान दिने प्रण पूरा गरी सरकारको नेतृत्व हस्तान्तरण समेत गरेका थिए ।
‘‘राजनीतिकर्मीको सबैभन्दा ठूलो गुण र शक्ति भनेको इमान्दारिता हो’’ भन्ने कोइरालाले आफू प्रधानमन्त्री हुँदा ०७१ मंसीरमा काठमाडौमा भएको १८ औं सार्क सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफबीच सौहार्दता बढाउन महत्वपूर्ण भूमिका समेत निर्वाह गरेका थिए । काँग्रेसका समकालीन नेताहरुमध्ये सबैभन्दा साधारण जीवनशैली बनाएका कोइरालाले आफ्नो नेतृत्वमा पार्टीभित्र मूल्य मान्यताको संस्कार शुरु गर्ने, सामूहिक निर्णय प्रक्रिया अनुसार पार्टी सञ्चालन गर्ने, मूल्यांकन र अनुशासन पद्धतीको विकास गर्ने र प्रजातन्त्र विरुद्धमा कसैसँग सम्झौता नगर्ने छबि बनाएका थिए ।
‘मेरो विवाह प्रजातन्त्रसँग भयो, मलाई व्यक्तिसँग विवाह गर्ने फुर्सद भएन र मेरो अभावयुक्त जीवनमा विवाह गरेर कसैलाई दुःख दिने चाहना पनि भएन’ भन्ने अविवाहित कोइरालाको मृत्युका सन्दर्भमा केही रहस्यहरु पनि बाहिर नआएका होईनन् । शुरुमा कोइरालाको मृत्युपछि सार्वजनिक गरिएको तस्वीरमा निधार छोपिने गरी दलिएको खैरो रङको वस्तु के थियो भन्ने बारे आम मानिसले प्रश्न गरेका थिए । पछि परिवारका सदस्य र सहयोगीले चन्दन लगाएको जानकारी दिए र त्यतिधेरै चन्दन निधारमा थोपरिनुलाई अर्थपूर्ण रुपमा हेरिएको थियो । जतिबेला मानिसहरुको आशंका पुष्टि भयो, त्यतिबेला कोइरालाको निधारमा रहेको घाउ छोप्न चन्दनको प्रयोग गरिएको खबर बाहिर आयो । तर मृत्युको केही घण्टाअघि कोइराला बाथरुममा लडेकाले निधारमा चोट लागेको बताईन्छ । वृद्ध अवस्थाको मानिस त्यसमा पनि रोगले थलिएको शरीर, चोट लागेर रगत बग्दा समेत कसैले अस्पताल लैजाने प्रयास गरेनन् किन ? यो प्रश्न रहस्यमय भएपनि उनको भौतिक शरीर अहिले छैन ।
डा.करवीरनाथ योगी कोइरालाका निजी चिकित्सक थिए । कोइरालाको निधनपछि योगीले समयमै एम्बुलेन्स नपाईएकाले अस्पताल लान नसकिएको बताएका थिए । तर मुलुकको निवर्तमान प्रधानमन्त्री, संसदको पहिलो दलको सभापति, प्रमुख प्रतिपक्षी दलको नेता, त्यागी र निष्ठावान व्यक्ति गम्भीर बिरामी पर्दा एम्बुलेन्स नपाएर बेलैमा अस्पताल लान नसकिएको कारण मृत्यु भएको भन्ने गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिईयो । जहाँकि पूर्वप्रधानमन्त्री र प्रमुख विपक्षी दलका नेताको हैसियतमा कोइरालासँग राज्यले उपलब्ध गराएको सुविधा सम्पन्न गाडी थियो । पूर्वप्रधानमन्त्रीको सुरक्षामा डिएसपीको नेतृत्वमा सुरक्षाकर्मी थिए । सुरक्षाकर्मीको गाडी २४ सै घण्टा कोइराला निवासमा थियो र डा. योगी आफैं गाडीमा कोइराला निवास पुगेका थिए । कोइराला निवास नजिकै शिक्षण अस्पताल महाराजगञ्ज र गंगालाल अस्पताल थिए । जहाँ १०÷१५ मिनेटकै अन्तरालमा पु¥याउन सकिन्थ्यो, तैपनि समयमा उपचार नपाएर एउटा सादगी जीवनको अकल्पनीय समाप्ति भयो ।
आफ्नो जीवनभर निरन्तर राजनीतिमा संलग्न तथा सक्रिय कोइरालाले प्रधानमन्त्री बाहेक कुनैपनि सार्वजनिक लाभको पद ग्रहण गरेनन् । वि.सं. २०७० माघ २७ गते प्रधानमन्त्री बनेका कोइरालाले आफ्नो २० महिने प्रधानमन्त्रीत्वकालमा पनि थोरै तर स्मरणयोग्य कार्य मात्रै गरे । कोइराला नेतृत्वको सरकारले वैशाख १२, २०७२ को भूकम्पछिको पुनःनिर्माणका लागि सहयोग जुटाउन ‘भूकम्पपछिको नेपाल पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय दाता सम्मेलन’ को आयोजना गर्दा सम्मेलनमा कोइराला सरकारप्रतिको विश्वासकै कारण दातृ निकायहरु बाट करिब साढे ४ खर्ब सहयोगको प्रतिबद्धता आएको थियो । शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न महत्वपूर्ण मानिएका सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठनका साथै पदाधिकारीको नियुक्ति कोइराला सरकारको अर्को उपलब्धि मान्न सकिन्छ ।
त्यस्तै लामो समयदेखि भारतका प्रधानमन्त्रीको नेपाल भ्रमण हुन नसकेको अवस्थामा उनकै पालामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण हुनुको साथै सार्क सम्मेलन पनि उनकै कसरतमा नेपालमा सम्पन्न भई भारत र पाकिस्तान नजिक हुने वातावरण समेत मिलेको थियो । माथिल्लो कर्णाली जलविद्युत् आयोजना र अरुण तेस्रो जलविद्युत् आयोजनाको भारतसँग परियोजना विकास सम्झौता (पिडिए) लाई उनी नेतृत्वको सरकारको अर्को महत्वपूर्ण उपलब्धिका रुपमा लिन सकिन्छ । साथै नेपाल र भारतको सीमामा रहेको महाकाली नदीमा निर्माण हुने पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको सम्बन्धमा २२ बर्षपछि पञ्चेश्वर विकास प्राधिकरण गठन गरी काम अगाडि बढाउने कार्य पनि त्यतिबेला नै भएको थियो ।
जीवनको अन्तिम क्षणमा ‘राजनीतिक हिरो’ बनेर यस संसारबाट बिदा लिएका पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई बाल्यकालदेखि नै हिरो बन्ने रहर थियो । उनी बाल्यकालमा हिन्दी तथा अंग्रेजी चलचित्र हेर्थे र चलचित्रमा देखिएका पात्रझैं अभिनय गर्ने तथा सोही अनुरुपको व्यवहार आफूमा पनि विकसित गर्ने गर्दथे । घरमा जानकारी नदिई फिल्म खेल्न घर छाडेर हिँडेका उनको घरबाट खोजी भयो र पढाइ सकेपछि मात्र उक्त क्षेत्रमा लाग्दा उपयुक्त हुने बताउँदै उनलाई फर्काइयो । त्यसपछि पनि उनको व्यवहारमा परिवर्तन आएन, चलचित्र र कलाप्रति उनको झुकाव झन् बढ्दै गयो । हलिउड यात्रा साकार पार्नकै लागि उनले भारतको बनारसमा झन्डै तीन बर्ष अभिनय र नृत्य सम्बन्धी प्रशिक्षण समेत लिएका थिए । अंग्रेजीमा राम्रो दख्खल भएका सुशीलले अंग्रेजी सिनेमा खेल्नका लागि हलिउडमा पत्र तथा फोटाहरु पनि पठाउँथे र हलिउड जाने सबै कुरा भइसकेपछि हलिउड यात्राको व्यवस्थापनका लागि घरमा आग्रह गर्दा पढाइ छाडेर त्यता नलाग्न सुझाव आएपछि उनी जान पाएनन् । जुन रहर उनी प्रधानमन्त्री भएका बेला बालुवाटारमा फुर्सद भयो कि त गीत सुन्दै गरेका भेटिन्थे, कि त अंग्रेजी चलचित्र हेर्दै गरेका हुन्थे भनी उनी निकटहरु बताउँछन् ।
सुशील कोइराला विराटनगर विमान अपहरण काण्डमा पनि सहभागी भएका पात्र हुन् । प्रजातन्त्र स्थापनार्थ रकम संकलन गर्न गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा घटाईएको उक्त घटना निकै रहस्यमयी भएको मानिन्छ । विराटनगरबाट काठमाडौ ल्याउन लागिएको राष्ट्र बैंकको ३० लाख रकम सहितको विमान अपहरण गर्न निकै ठूलो साहस र होसियारी योजना चाहिन्थ्यो । भनिन्छ, अपहरणको सफलतामा कोइरालाको निकै ठूलो हात थियो । उनका भाइ अशोक कोइरालाका अनुसार अंग्रेजी चलचित्र धेरै हेर्ने सुशील तत्कालीन समयमा रिलिज भएको स्काइज्याक लगायतका अपहरण सम्बन्धी चलचित्रहरुबाट प्रभावित भएकै कारण योजनाको गोपनीयताका लागि सुशीलद्वारा चलचित्रमा जस्तै पात्रहरु छनौट गरी विमान अपहरण पश्चात् पैसाको व्यवस्थापन पनि फिल्मी शैलीमै गरिएको थियो ।
त्यस्तै एक समय बम पड्काउन भनी कोइराला काठमाडौ आएका थिए । उनले प्रहरीलाई झुक्याउन हर्लिक्सको सिसामा बम हालेर ल्याएका थिए । तर प्रहरीले सोधपुछ गर्दा उनले बिरामी भेट्न आएको बताएपनि झोलामा बिजुलीको तार समेत देखेपछि पुनः सोधपुछ गर्दा उनले प्रहरीलाई बाथरुममा बत्ती मिलाउनका लागि तार लिएर आएको भनी झुक्याएका थिए । उनको त्यो शैली कुनै चलचित्रमा देखिने दृश्य भन्दा फरक थिएन भनी दस्तावेजहरुमा उल्लेख गरिएको छ । लोकतान्त्रिक मूल्य मान्यताका हिमायती सुशील कोइरालाले मुलुक र जनताका लागि गरेको अतुलनीय योगदानले नेपाली जनमानसमा उनको चिरकालपर्यन्त सम्झना दिलाई रहनेछ । राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति अविचलित निष्ठा, सादा र सरल जीवनशैली तथा सुदृढ चारित्रिक र नैतिक बलद्वारा राष्ट्रिय राजनीतिमा शीर्षस्थ स्थान बनाएका कोइराला काँग्रेसका लागि मात्र नभई सिंगो देशका निम्ति बोली र व्यवहारमा एकरुपता भएका उदाहरणीय नेता थिए । त्यसैले उनलाई देश र जनताले अत्यन्त जटिल बन्दै गएको संक्रमणकालीन राजनीतिको बेला संविधानसभाबाट संविधान जारी गर्ने अभियानका मुख्य नेताका रुपमा सदा सम्झने छन् ।
संविधान निर्माणपछि पनि संविधानको कार्यान्वयन र यसको निरन्तर परिमार्जनद्वारा संविधानको व्यापक स्वीकारोक्ति बढाउन कोइरालाले संविधान संशोधन प्रक्रियाको समेत नेतृत्व गरेका थिए । उनले आन्दोलनरत सबै पक्षलाई एकता, सहमति र सहकार्यको बाटोमा संलग्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरे । मधेसमा आन्दोलनरत पक्षलाई निरन्तर संम्वाद र वार्तामा संलग्न राखेर हिमाल, पहाड, मधेश र तराईका जनताको भावना र पारस्परिक एकतालाई सुदृढ बनाउन र सम्मानजनक निकास खोज्न जीवनको अन्तिम घडीसम्म उनले निर्वाह गरेको भूमिका अविस्मरणीय रहनेछ ।
एक महत्वपूर्ण संयोग नै मान्नुपर्छ, संविधानसभाको बीउ रोपेका महामानव बीपी कोइरालाको सपनालाई कोइराला परिवारका अर्का प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले बाटो खन्ने काम गरे भने त्यसलाई पूर्णता दिने काम सुशील कोइरालाले गरे । उनको यो राजनीतिक संयोगले भरिएको दृष्टान्तलाई मनन गर्दा एउटा चलचित्रको सुखद अन्त्यको झल्को पाउन सकिन्छ । त्यसैले सिनेमा जगतका नायक बन्न नसकेपनि सुशील कोइराला राजनीतिक जगतका हिरो बन्न सफल भए र उनले आफ्नै नेतृत्वमा संविधान जारी गरी राजनीतिक महानायकको छवि स्थापित गरेका छन् । त्यसैले उनको निष्ठा, त्याग र संघर्षमय जीवनका उदाहरणीय पक्ष वर्तमान राजनीतिक नेतृत्वले आत्मसाथ गर्न सक्नु र सहमति, सहकार्य, एकताबाटै अगाडि बढ्ने प्रयत्न गर्नु उनीप्रति सच्चा श्रद्धाञ्जली हुनेछ । त्यसमाथि पनि उनकै पार्टी नेपाली काँग्रेसले त उनको बाटोलाई अक्षरंश पालना गर्नका लागि निकै ढिला भईसकेको छ । (लेखक अधिवक्ता हुन्)
प्रतिक्रिया दिनुहोस्