
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
कोरोना संक्रमणको दर बढेसँगै आइतवार कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र(सीसीएमसीसी)ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सरकारलाई दिएको सिफारिस अनुसार विद्यालय बन्द गर्न लागिएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले माघ १५ गतेसम्म देशभरका सबै आधारभुत र माध्यामिक विद्यालय बन्द गर्नका लागि मन्त्रालयले सूचना जारी गर्ने बताउनुभयो । उहाँले विदाको अवधिमा पनि सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुसार विद्यालयहरुले अनलाइन माध्यमबाट पठन पाठन जारी राख्नुपर्ने पनि बताउनुभयो ।
मन्त्रालयका प्रवक्ता शर्माले विद्यालय बन्द भएको बेलामा सबै विद्यालयहरूले १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई खोपको प्रवन्ध गरिने पनि बताउनुभयो । विश्वविद्यालयको परिक्षाहरु भने सञ्चालन हुने उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘विश्वविद्यालयहरुको परिक्षाहरु, वार्षिक परिक्षा, सेमेष्टर परिक्षा जुन छ, त्यो भौतिक दुरी कायम गरेर, मास्क, सेनिटाइजर प्रयोग गरेर जेड आकारको बसाईको सिट प्लान गरेर चलाउने भन्ने छ । यि विषयमा सार्वजनिक सूचना जारी गर्छौ ।’
विद्यालय बन्द भएको बेलामा खोपलाई अभियानको रूपमा सञ्चालन गरिने उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्