
काठमाडौं । कोरोना संक्रमण दर बढेपछि अबदेखि रंगशालामा खेल हेर्न जाने दर्शकका लागि खोप कार्ड अनिवार्य गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले अब रंगशालामा फुटबल हेर्न खोप कार्ड अनिवार्य भएको बताउनु भएको छ ।
हाल राजधानीको दशरथ रंगशालामा भइरहेको सहिद स्मारक ए डिभिजन लिग हेर्न जाने दर्शकले आफूले कोरोना विरूद्धको खोप लगाएको प्रमाणस्वरूप खोप कार्ड देखाउनु पर्ने भएको छ । यस्तै, कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता र अन्य रंगशलामा अरू हेर्ने जाने दर्शकले पनि अनिवार्य खोप कार्ड बोक्न पर्नेछ । यस्तै, रंगशालाभित्र पसेपछि सामाजिक दूरी कायम हुने हिसाबले बस्नु पर्ने नियम पनि लागु गरिएको छ ।
गृह मन्त्रालयले माघ ७ गतेदेखि सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्यसमेत गरिएको थियो । यसमा मोबाइलमा फोटोमात्रै भए पनि हुने प्रशासनले भनेको छ । माघ ७ गतेअघि भने दर्शकले खोप कार्ड बिना नै रंगशालामा खेल हेर्न पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्