
काठमाडौं । बागमती प्रदेश प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
टियु क्रिकेट मैदानमा शनिबार गण्डकी प्रदेशलाई ४० रनले हराउँदै बागमती अन्तिम चारमा पुगेको हो । बागमतीले दिएको १ सय ४४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको गण्डकीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३ रनमा समेटियो ।
गण्डकीका कमल परियारले ११ रन जोडे । विधान श्रेष्ठ, दिपक डुम्रे, सन्दीप क्षेत्री, गोविन्द बिक र विशाल पौडेलले समान १० रन बनाए । बागमतीका नन्दन यादव,विपिन आचार्य र सुबाश खत्रीले २÷२ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको बागमतीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन बनाएको थियो । बागमतीका लागि विपिन आचार्यले सर्वाधिक ३० रन जोडे गण्डकीका विशाल पौडेल र कृष्ण पौडेलले २÷२ विकेट लिए ।
जितसँगै समूह ‘बी’ मा रहेको बागमतीले ४ खेलमा ६ अंक जोड्यो । बागमती समूहको उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो । यो समूहबाट यसअघि नै एपिएफ ४ खेलमा अपराजित रहँदै सेमिफाइनलमा पुगिसकेको छ ।
समूह ‘ए’ बाट पुलिस ३ खेलमा अपराजित रहँदै ६ अंकका साथ समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । पुलिसले शनिबारै प्रदेश १ सँग अन्तिम खेल खेल्ने कार्यक्रम थियो । तर, प्रदेश १ का खेलाडीमा कोरोना आशंका भएपछि खेल स्थगित भएको थियो ।
समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब ४ खेलमा २ मा जित र १ मा हार सहित ५ अंकका साथ दोस्रो स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्