
काठमाडौं । प्रदेश २ को प्रदेश सभाको बैठक आज बस्दैछ । बिहान ११ बजेका लागि बैठक बोलाइएको हो ।
बैठकमा सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित नाम र राजधानी अध्ययन विशेष समितिले आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।
समितिले प्रतिवेदन पेश गरेपछि आज सो विषयमा छलफल हुने प्रदेश सभा सचिवालयका सचिव रंजित यादवले जानकारी दिनु भएको छ ।
प्रदेशको नाम र राजधानी दलीय सहमतिको आधारमा तय गर्न १३ पुसमा बसेको प्रदेश सभा बैठकले संसदीय अध्ययन विशेष समिति गठन गरेको थियो । समितिमा पटक–पटक छलफल भएपनि सहमति हुन सकेको छैन् । दलहरू आ–आफ्नै अडानमा छन् ।
प्रदेशको नामाकरणका लागि चार वटा प्रस्ताव दर्ता भएको छ । प्रदेशसभामा दर्ता भएको प्रदेशको नाम मधेस, जानकी, मिथिला भोजपुरा, मध्य मधेस र राजधानीको प्रस्ताव जनकपुर र वीरगञ्जको प्रस्ताव दर्ता भएको छ ।
नाम र राजधानी तोक्न प्रदेश सभामा दुई तिहाइ मत आवश्यक पर्छ। कुल १०४ सांसद रहेको प्रदेशमा जसपाको ३९, कांग्रेसको १९, लोसपाको १६, एकीकृत समाजवादीको १३, माओवादीको ८, एमालेको ८ र नेपाल संघीय समाजवादी पार्टीको १ जना सांसद छन् ।
प्रतिक्रिया दिनुहोस्