
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टीमको बन्द प्रशिक्षण सुरु भएको छ । अखिल नेपाल फुटबल संघको खेलमैदान सातदोबाटोमा बन्द प्रशिक्षण सुरु भएको हो ।
प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहिलो चरणमा ३५ खेलाडीलाई प्रशिक्षणमा बोलाए पनि २८ जना खेलाडी मात्र उपस्थित भएका थिए । फिफा विन्डोमा नेपालले मोरिसससँग दुई वटा मैत्रीपूर्ण खेल खेल्ने भएकोले खेलाडीहरूलाई बन्द प्रशिक्षणमा बोलाइएको हो ।
नेपाल र मोरिसस बीच दशरथ रंगशालामा माघ १५ र १८ गते दुई मैत्रीपूर्ण खेल हुने तालिका रहेको छ । काठमाडौंमा नै जारी ‘ए’ डिभिजन लिगको नवौ चरणका खेलहरू सोमबार सकिएको छ । राष्ट्रिय टिमको बन्द प्रशिक्षणका लागि छानिएका र जारी लिगमा विभिन्न क्लबमा आबद्ध भएर खेलिरहेका खेलाडीहरू पनि बन्द प्रशिक्षणमा पुगेका छन् ।
मुख्य प्रशिक्षण अब्दुल्लाह अल्मुताइरीले सहायक प्रशिक्षकका रूपमा संकटा क्लवका मुख्य प्रशिक्षक विष्णु गुरुङलाई बोलाएका छन् । मोरिससविरुद्धको दुई मैत्रीपूर्ण खेलका लागि उनलाई अब्दुल्लाहले दोस्रो सहायक प्रशिक्षकका रूपमा टिममा बोलाएका हुन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सञ्चारकर्मीसँग कुरा गर्दै मुख्य प्रशिक्षक अल्मुताइरीले मोरिससविरुद्ध खेल्न तयारी अवस्थामा रहेको प्रतिक्रिया दिएका छन् । मोरिससविरुद्धको खेलमा केहि नयाँ खेलाडीलाई मौका दिने जानकारी पनि मुख्य प्रशिक्षक अल्मुताइरीले दिएका छन् ।
यस्तै सहायक प्रशिक्षकको रूपमा जिम्मेवारी पाएका विष्णु गुरुङले आफूले पाएको मौकाको भरपुर सदुपयोग गरेर आफूलाई र खेललाई अझ निखार्ने बताएका छन् । यो पटकको प्रशिक्षणमा चोटबाट मुक्त भएर फर्किएका विमल घर्तीमगरसँगै लामो समयदेखि अष्ट्रेलियामा रहेका जगजित श्रेष्ठले पनि कमब्याक गरेका छन् ।
जगजितले राष्ट्रिय टिममा फर्किने अन्तिम अवसर हुनसक्ने बताएका छन् । तर, नेपालमा बढ्दै गएको कोभिड संक्रमणका कारण खेलबारे अनिश्तिता बढेको छ । सरकारले जारी गरेको निषेधाज्ञा र बढ्दो संक्रमणको जोखिमबीच खेल खेलाउनु आफैँमा जोखिम पनि हो ।
यस्तै नेपाली फुटबल टिमले मंगलबारबाट प्रशिक्षण सुरु गरे पनि कोरोना संक्रमण भएका खेलाडीहरु निको भएर आएपछि सम्पूर्ण टीमको प्रशिक्षण गर्ने एन्फाको तयारी छ ।
प्रतिक्रिया दिनुहोस्