१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


मन्त्री झाँक्रीलाई ‘भाउजु’ भन्दै मन्त्रालय चलाउने शक्तिशाली सुब्बासाप !

१० वर्षदेखि मन्त्रालयमै रजगज, प्रशासन नपुगी बाटैमा च्यातिन्छन् सरुवाका पत्र

235.404k
Shares

काठमाडौं । देशका विभागीय मन्त्रालय कसले चलाउला ? उत्तर सामान्य छ मन्त्री । तर केही यस्ता मन्त्रालयहरू पनि छन् त्यहाँ मन्त्रीभन्दा बढी विचौलिया, कर्मचारी र कमिसनखोरहरूको रजगज चल्छ ।

सिंहदरबारभित्रै रहेको शहरी विकास मन्त्रालयको जिम्मेवारी अहिले नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुकमारी झाँक्रीले पाउनुभएको छ । झाँक्री मन्त्री भए पनि मन्त्रालयमा हामीमुहाली भने अर्कैको चल्छ । मन्त्रालयकै एक सुब्बाले मन्त्रालयमा राज गरिरहेका छन् ।

धनकुटा घर भएका सुब्बा युवराज गिरी लामो समयदेखि मन्त्रालयमा स्टोर प्रमुखको जिम्मेवारीमा छन् । तर उनी स्टोर र स्टोरको काममा होइन, जतिबेलै मन्त्रीकै अघिपछि भेटिन्छन् ।

मन्त्रीको दैनिक कार्यतालिकाको विषयमा सचिव, सहसचिव र सचिवालयका कर्मचारी भन्दा बढी उनी जानकार हुन्छन् । अझ भन्दा, मन्त्रीको सबै कार्यक्रम उनैले तय गर्छन्, आफूलाई राज्यमन्त्री सरह सोचेर व्यवहार गर्ने गरेको मन्त्रालयका कर्मचारी बताउँछन् ।

झाँक्री मन्त्री भएको बेलामा मात्रै होइन, उनको रवाफ अरु मन्त्री हुँदा पनि उत्तिकै थियो । तर, मन्त्रालयमै पूरै हालीमुहाली गर्न भने पाएन थिएनन् । यसपटक मन्त्रीको आगमनसँगै उनलाई यत्ति सजिलो भयो कि उनी सचिवालयका कर्मचारी, सचिव, सहसचिव सबैभन्दा माथिल्लो तहमा पुगेर काम गर्न थाले ।

अरु पार्टीका मन्त्री हुँदा पनि सुब्बासापको रवाफमा भने कमी नभएको यसअघिका मन्त्री र उनका सचिवालयका कर्मचारीहरूको अनुभव छ ।

‘उहाँको रवाफ नै ठूलो हुन्थ्यो, कुन्नी के छ त्यस्तो,’ यसअघिका मन्त्रीको सचिवालयमा रहेका भन्छन्, ‘सचिव र सहसचिव भन्दा उहाँको रजगज बढी थियो ।’

मन्त्रालयमा कार्यरत कर्मचारी पनि उनको हर्कतबाट असन्तुष्ट छन् । अधिकृत स्तरका कर्मचारी मात्र होइनन्, सचिव समेत उनको व्यवहारबाट दिक्क छन् ।

‘आफू राम्रो बनेर अरुलाई नराम्रो देखाउने राम्रै कला रैछ उहाँमा’, गिरीबाट दिक्क भएका मन्त्रालयमा कार्यरत एक कर्मचारीले भने, ‘मन्त्रीको भन्दा बढी रवाफ उहाँको हुन्छ, त्यो देख्दा पो अचम्म लाग्छ त !’

गिरी २०७२ सालमा शहरी विकास मन्त्रालयले हतारमा त्रिपाल खरिद गरेर अनियमितता गरेको आरोप लागेको थियो । सोही क्रममा उनी तीन वर्षसम्म निलम्बनमा पनि परेका थिए । यद्यपि उनले उक्त मुद्दामा भने सफाइ पाएका थिए ।

सरकारी गाडी चढ्ने पहिलो सुब्बा !
सामान्यतया सरकारी सेवा रहेका उप-सचिव स्तरका कर्मचारीलाई मात्र मन्त्रालयले चारपांग्रे सवारी उपलब्ध गराउँछ । तर, गिरी सायद पहिलो व्यक्ति होलान्, जसले सुब्बाको पदमै सरकारी सवारी चढ्छन्, त्यो पनि ड्राइभर राखेर । ड्राइभर राखेर सिंहदरबार छिर्ने उनी नै पहिलो सुब्बा हुनुपर्छ । गिरीले सरकारी सम्पत्तिको चरम दुरूपयोग गर्दै सिंहदरबारमै बसेर ऐन र कानुको खिल्ली उडाइरहेका छन् । तर, त्यत्ति हुँदा पनि उनलाई निलम्बन गर्ने त परै जाओस् स्पष्टीकरण समेत कसैले सोध्न सकेका छैनन् ।

योजनामा हालीमुहाली
शहरी विकास मन्त्रालयमा पर्ने र पार्ने योजनाहरूमा सुब्बा युवराज गिरीकै हालीमुहाली हुने गरेको छ । कस्ता योजना पार्ने, कसको योजनामा लालमोहर लगाउने लगायतका सम्पूर्ण काममा गिरी पोख्त भइसकेका छन् । मन्त्रालयमा आएका फाइल, योजना र सरुवा बढुवामा समेत उनको हात रहने मन्त्रालय स्रोत बताउँछ । त्यसका लागि दर्ता चलानी शाखामा गिरीले आफ्नो नातेदारलाई राखेका छन् । चलाखीपूर्ण ढंगले योजनाहरू आफूलाई फाइदा हुनेगरी वितरण गर्ने गरेको कर्मचारी स्रोत बताउँछ ।

मन्त्रीले पनि हटाउन नसकेका सुब्बासाप
सामान्यतया एक, डेढ वा दुई वर्षमा सरकारी कर्मचारीहरूको सरुवा हुने गर्छ । तर, गिरी भने १० वर्षभन्दा लामो समयदेखि मन्त्रालयको स्टोर प्रमुखको रूपमा कार्यरत छन् । उनलाई यसअघिका मन्त्रीले सरुवा गर्न नखोजेका पनि होइनन् । तर, सुब्बासापको पावरको अगाडि कसैले केही पनि चलेन ।

दर्ताचलानी शाखामा भएका उनका नातेदारका कारणले उनको सरुवाको पत्र प्रशासनसम्म कहिल्यै पनि पुग्न नसकेको स्रोत बताउँछ । ‘उहाँ (युवराज गिरी)लाई सरुवा गर्नका लागि धेरैपटक सरुवाका पत्र आए,’ स्रोतले भन्यो, ‘तर बिडम्बना के भने, त्यो पत्र कहिल्यै पनि प्रशासन पुग्न पाएन, दर्ताबाट च्यातेर फालिए ।’

गिरीको लाइफस्टाइल
सामान्यतया स्टोर शाखा भन्ने बित्तिकै आर्थिक हिसाब एकदमै राम्रो स्थान मानिन्छ । मालअड्डाको नाममा मन्त्रालयको स्टोर शाखालाई पनि समावेश गर्दा फरक नपर्ला । चतुर्‍याईं जानेका गिरीले मालअड्डाका कर्मचारीले भन्दा धेरै आम्दानी गर्छन् । स्टोर प्रमुखको जागिर खाएका गिरीको लाइफस्टाइल आफैंमा लोभलाग्दो छ । गाउँको सामान्य परिवारबाट आएर जागिर सुरु गरेका उनको काठमाडौंमा आफ्नै घर छ ।

२०७८ साउन १ गतेदेखि बढेको तलबअनुसार सुब्बाको तलब ३२ हजार ८ सय १६ रूपैयाँ तोकिएको छ । ३२ हजार तलब खाने सुब्बाले काठमाडौंमा घर बनाएर बस्नु असम्भव रहेको वर्षौंदेखि सरकारी सेवा आबद्ध पूर्वकर्मचारीको भनाइ छ । अतिरिक्त आम्दानी, घुस, कमिसन र भ्रष्टाचारविना यस्ता क्रियाकलाप सम्भव नभएको उनीहरूको निष्कर्ष छ ।

मन्त्री झाक्रीसँगको सम्बन्ध
मन्त्री रामकुमारी झाँक्रीलाई सुब्बा गिरीले भाउजु सम्बोधन गर्छन् । मन्त्री झाँक्रीले पनि सचिव र अन्य कर्मचारीलाई भन्दा उनैलाई बढी महत्त्व दिने गर्नुभएको छ । सचिव र माथिल्लो तहका कर्मचारीको भन्दा सुब्बाको बढी भर गरेपछि उहाँमाथि पनि शंकाका आधारहरू सिर्जना भएका छन् ।

केही दिनअघि मन्त्रीले आयोजना गरेको पत्रकार सम्मेलनमा पनि मन्त्रीमाथि सचिवालयमा कर्मचारीको भूमिको सन्दर्भमा प्रश्न उठेको थियो । तर, मन्त्री झाँक्रीले उचित जवाफ दिन सक्नुभएन । उहाँले सबैले आ–आफ्नो स्थानमा रहेर काम गरेको दाबी गरे पनि मन्त्रालयमा त्यस्तो अवस्था देखिँदैन ।

यसअघि भएका मन्त्रीहरूलाई पनि गिरीले आफ्नो पक्षमा पार्न नखोजेका होइनन् । केही मानेनन् भने केहीले उनलाई टेरेनन् । तर, अहिले भने उनले मन्त्रालय नै आफूले चलाइरहेका छन् । मन्त्रालयका योजना, नीतिगत निर्णय र सरुवाबढुवा देखि अन्य निर्णयमा पनि उनको प्रत्यक्ष संलग्नता रहने गरेको मन्त्रालय उच्च स्रोत बताउँछ ।

सामान्यतया मन्त्रीले सचिव, उपसचिव र कर्मचारीहरूलाई खटनपटन गर्ने गर्छन् । तर, शहरी विकास मन्त्रालयमा भने मन्त्रीको पूर्ण समर्थन पाएर सुब्बासाप राज गरिरहेका छन् । उनलाई मन नपरेको र आफू अनुकुलका कर्मचारी नआए सरुवा समेत गराउने हैसियत गिरीले राखेको मन्त्रालय उच्च स्रोतको भनाइ छ ।

त्यत्तिमात्रै होइन, मन्त्री झाँक्रीलाई सचिवालयमा कर्मचारी हाबी भएको विषयमा पार्टीबाटसमेत प्रश्न तेर्सिएको छ । तर, मन्त्रीले सुब्बासापको संरक्षण गर्न छाडेकी छैनन् । सुब्बासापप्रति मन्त्रीको यति धेरै संरक्षण गर्दै काखी च्याप्नुका पछाडि निहीत स्वार्थ जोडिएको यसै पुष्टि हुन्छ ।

मन्त्रालयका सामान्य सुब्बाको यति धेरै संरक्षण किन भइरहेको छ भन्ने प्रश्नको उत्तर या मन्त्रीज्यूलाई थाहा होला या त सिंगो मन्त्रालय चलाइरहेका सुब्बासापलाई !