१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दलहरूमा कोरोनाको असर : मतदाता रिझाउने समयमा क्वारेन्टिन र आइसोलेसनमा


130
Shares

काठमाडौं । कोरोना महामारीको तेस्रो लहरले मुलुकको प्रमुख प्रशासनिक मुख्यालय सिंहदरबारदेखि प्रमुख राजनीतिक दलका कार्यक्रम प्रभावित भएका छन् ।

हरेक राजनीतिक भेटघाटलाई चुनावी एजेण्डा बनाउँदै आएका दलका मुख्यालय समेत सुनसान बनेका छन् । यद्यपि स्वास्थ्य मापदण्ड ख्याल गरेर जनताका बीचमा जान आमनेता कार्यकर्तालाई आव्हान गरिएको उनीहरू बताउँछन् ।

निर्वाचन आयोगले तीनै तहका चुनावको मिति तय गर्न सरकार र दलहरूलाई ताकेता गरिरहेको छ । यही माघ १२ गते राष्ट्रियसभामा रिक्त १९ पदका लागि चुनाव हुँदैछ । सामान्य अवस्था हुँदा हो त यतिबेला नेताहरू मतदाता रिझाउन आरोपप्रत्यारोपमा व्यस्त हुने थिए ।

कोरोना संक्रमणको चाप बढ्दै गएपछि दलहरूका देशव्यापी कार्यक्रम प्रभावित बनेको छ ।

सत्ताघटक दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहित अन्य दलहरूले सबै प्रकारका सार्वजनिक कार्यक्रम स्थगित गरिसकेका छन् ।

दलहरूका शीर्ष नेतादेखि कार्यालयका अधिकांश कर्मचारीमा संक्रमण देखिएपछि नेताहरू कार्यालय बन्द गर्ने दवावमा परेका हुन् ।

प्रतिपक्षी एमालेले पार्टीका प्रदेश र जिल्ला अध्यक्षलाई सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पूरा गरी मातहतका पार्टी कार्यालय सञ्चालन गर्न आग्रह गरेको छ । पार्टीका आन्तरिक बैठक, भेला, छलफल जस्ता कार्यक्रम सतर्कता अपनाइ गर्न एमाले नेता डा. भिष्म अधिकारी आग्रह गर्नुहुन्छ ।

माघभित्र सबै प्रदेशमा अधिवेशन र आगामी फागुन मसान्तभित्र जनसंगठनका महाधिवेशन सम्पन्न गर्ने एमाले कार्ययोजना निष्फल भइसकेको छ । सरकारले खोप भण्डारण पर्याप्त रहेको र आमनागरिकलाई उपलब्ध गराएको दावी गरे पनि एमालेले भने त्यति प्रभावकारी नरहेको टिप्पणी गर्न रुचाएको छ ।

सत्तारुढ नेपाली कांग्रेसको कतिपय जिल्ला अधिवेशन अझै टाँगिएको छ । कोभिड संक्रमणका कारण कांग्रेसले अधिवेशनको नयाँ तिथि तय गर्न सकेको छैन ।

कोभिडले भयावह अवस्था लिँदै गएको सन्दर्भमा आन्तरिक व्यवस्थापन थाती राखेर दलहरूले जनताको जीवन रक्षामा ध्यान दिन जरुरी छ ।