
नेपाल टेलिकमले एफटीटीएच उपलब्ध नभएका स्थानहरूमा द्रुत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउन नमस्ते वाईफाई विस्तार गर्ने भएको छ ।
कम्पनीले नमस्ते वाईफाई सेवाका विभिन्न आकर्षक प्याकेजहरू उपलब्ध गराइरहेको छ । कम्पनीले उपलब्ध गराइरहेका यी प्याकेजहरु आवश्यक डिभाइससहित ग्राहकवर्गलाई सहज रूपले प्राप्त होस् भनी नेपाल टेलिकम र साइबरनेटिक्स प्रा.लि.बीच सम्झौता सम्पन्न भएको छ ।
बुधबार सम्पन्न सम्झौतामा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र साइबरनेटिक्स प्रा.लि. का सीईओ जेम्स न्याछ्योले हस्ताक्षर गरेका छन् ।
नमस्ते वाईफाईमार्फत नेपाल टेलिकमले हाल व्यक्तिगत र सरकारी संस्थागत प्याकेजहरू गरी दुई प्रकारका प्याकेजहरू उपलब्ध गराइरहेको छ ।
व्यक्तिगत प्याकेजअन्तर्गत होम ब्रोडव्यान्ड वेसिक ८ सय रुपैयाँमा ६० जीबी ३० दिनका लागि उपलब्ध छ । त्यसैगरी १ वर्षका लागि ९ हजार रुपैयाँमा ७ सय २० जीबी प्याक उपलब्ध छ । यसलाई प्रतिमहिना ६० जीबीका दरले १२ महिनासम्म प्रयोग गर्न सकिन्छ ।
होम ब्रोडब्यान्ड प्रिमियम अन्तर्गत १२ सय रुपैयाँमा १ सय २० जीबी प्याक ३० दिनको लागि उपलब्ध हुन्छ । त्यसैगरी १ वर्षका लागि १३ हजार ५ सय रुपैयाँमा १ हजार ४ सय ४० जीबी प्याक उपलब्ध हुन्छ । यसलाई प्रतिमहिना १ सय २० जीबीका दरले १२ महिनासम्म प्रयोग गर्न सकिन्छ ।
सरकारी र संस्थागत प्याकेजमा ३ हजार ६ सय ५० रुपैयाँ र २ हजार १ सय रुपैयाँमा ३० दिनका लागि विभिन्न प्रकारका प्याकेजहरू उपलब्ध छन् । यी प्याकेजबाट अनलिमिटेड डाटा चलाउन सकिन्छ । वार्षिक र अर्धवार्षिक रूपमा एकमुष्ट प्याकेज लिने ग्राहकका लागि निश्चित छुटको समेत व्यवस्था गरिएको छ ।
नमस्ते वाईफाई सेवाको प्याकेज र यसको दर सम्बन्धमा विस्तृत जानकारी https://www.ntc.net.np/post/4g-wireless-home-broadband मा उपलब्ध छ ।
प्रतिक्रिया दिनुहोस्