१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


मधेश प्रदेशमा कोरोना संक्रमणदर तीव्र : बजारमा भीड, मास्क नै लगाउँदैनन् सर्वसाधारण


273
Shares

काठमाडौं । कोरोना संक्रमणको दर तीव्र रूपमा फैलिए पनि मधेश प्रदेशको बजारहरूमा सर्वसाधारणको अत्याधिक भीड देखिएको छ ।

मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमित भेटिए पनि स्थानीय तहमा भने सतर्कताको अभाव देखिएको छ । विनामास्क बजारमा आवतजावत गर्नेको संख्या उल्लेख्य छ ।

हाल यस प्रदेशमा १ हजार २ सय ११ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । संक्रमितमध्ये आईसीयूमा २ जना, एचडीयूमा ४ जना र बाँकी होम आइसोलेशनमा रहेका छन् ।

प्रदेशका स्वास्थ्य निर्देशनालय निर्देशक बिजय झाले करिब ५० प्रतिशतले कोरोनाविरुद्वको खोप लगाएको जानकारी दिनुभयो ।

पछिल्लो दुई साताको अवधिमा प्रदेशका जिल्लामा कोभिडविरुद्धको खोप लगाउने दर करिब १२ प्रतिशतले बढेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गत पुस २५ सम्म दोस्रो मात्रा खोप लगाउने १८ वर्षमाथि उमेर समूहको संख्या ३८ प्रतिशतमात्र रहेकामा पछिल्लो दुई साताको अवधिमा त्यो संख्या बढेर करिब ५० प्रतिशत पुगेको निर्देशनालयले जनाएको छ ।

राजनीतिक दलहरुले समेत कोभिड नियन्त्रणका लागि लागू गरिएको स्वास्थ्य मापदण्डको बेवास्ता गर्दै आ–आफनो गतिविधिलाई अगाडि बढाउने गरेको पाइएको छ ।