१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्री देउवाले एक वर्षमै तीन तहको निर्वाचन गर्ने


2.899k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षभित्र तीन तहको निर्वाचन गर्नुपर्ने सरकारको दायित्व पूरा गर्ने प्रतिबद्धता जनाउनु भएको छ । ‘एक वर्षभित्रै तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व सरकारमाथि छ ।

शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले ‘निर्वाचनका पूर्वतयारीका कामहरू सम्पन्न गर्न आफु सम्बन्धित सबैसँग अनुरोध गर्नु भएको छ । संघीता कार्यान्वयनलाई थप सुदृढ बनाउन संघीय सरकारले प्रदेश र स्थानीय तहलाई सक्रिय बनाउने उहाँले बताउनु भयो ।

प्रधानमन्त्री देउवाले संवाद र सहमतिको माध्यमबाट संसद् सुचारु गर्ने बिषयलाई आफूले विशेष प्राथमिकतामा राखेको बताउनु भयो । संसद् सुचारु भएपछि सबै दलसँग छलफलको माध्यमबाट विचाराधीन विषयहरूलाई निचोडमा पुर्‍याउने उहाँको दावी छ ।


संविधानको कार्यान्वयन, कानुनी राज्य र सुशासनको प्रत्याभूति, शान्ति प्रक्रियालाई पूर्णता दिन विस्तृत शान्ति सम्झौताका बाँकी कार्यभार पूरा गर्ने प्रतिबद्धता समेत जनाउनु भयो ।

विभिन्‍न पक्षसँग भएका सहमतिको कार्यान्वयन गर्ने, राजनीतिक दलहरूको सहमतिमा नागरिकताको समस्याको समाधान गर्ने, संघीयता कार्यान्वयन एवं प्रदेश र स्थानीय तहका सरकारलाई सबलीकरण गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनु भएको छ ।

गत असार २९ गते पाँच राजनीतिक दलको समर्थनमा कांग्रेस पार्टी सभापति देउवाको नेतृत्वमा गठन भएको सरकारले ६ महिना पूरा गरेको हो। यस अवधिमा देशवासीका नाममा उहाँको यो पहिलो सम्बोधन हो।

विश्व कोभिड— १९ महामारीको प्रथम, दोस्रो र तेस्रो लहरबाट आक्रान्त भएको छ। नयाँ स्वरूपको ओमिक्रोन संक्रमणको उच्च जोखिमले नागरिकमा चुनौती बढेकाले सबै मिलेर नियन्त्रण गर्नुपर्नेमा उहाँले जोड दिनु भएको छ ।

सबै राजनीतिक दल र समुदायलाई स्वास्थ्य सुरक्षाका मापदण्ड इमान्दारीपूर्वक पालना गर्न समेत उहाँले आग्रह गर्नु भएको छ । कांग्रेसले नेतृत्व गरेपछि आर्थिक–सामाजिक रूपान्तरणको आधार बलियो भएको बताउँदै उहाँले महँगी नियन्त्रण गर्ने तथा भ्रष्टाचारजन्य कार्यहरूको अन्त्य भएको दाबी गर्नु भएको छ ।यो समाचार अन्नपूर्ण पोष्टमा छ ।

अन्नपूर्ण पोष्ट