१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पदीय मर्यादाविपरीत अभिव्यक्ति दिने मन्त्रीमाथि हुँदैन कारवाही, मन्त्रीमै देखिएन नैतिकता


2.678k
Shares

काठमाडौं, माघ ८ । सार्वजनिक ओहदामा बसेका मानिसको जीब्रो चिप्लँदा होस या बोल्ने भाँती नपुग्दा पद नै गुमाउनु परेको नेपालमा थुप्रै उदाहरण छन् । गणतन्त्रपछि बनेका सरकारका थुप्रै मन्त्री यस्तै विवादास्पद अभिव्यक्तिका कारण चर्चाको घेरामा तानिएका छन् । पछिल्लो चरण सार्वजनिक कार्यक्रममा हिंसा भड्काउने अभिव्यक्ति दिएकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई पदबाट हटाउन नागरिक स्तरबाट ठूलो दबाब छ । तर यस विषयमा न प्रधानमन्त्री देउवाको चासो छ, न मन्त्री यादवले नै नैतिक जिम्मेवारीको छाँटकाँट देखाउनुभएको छ ।

मधेश प्रदेशमा आगजनी र तोडफोड गरी संघीय सरकारका मन्त्री वहिष्कार गर्दै आएको जनमत पार्टीका अध्यक्ष सीके राउतविरुद्ध हिंसा भड्काउने अभिव्यक्तिले मन्त्री यादवलाई विवादमा तानेको थियो ।
सार्वजनिक पद धारण गरेको व्यक्तिको हिंसा भड्काउने अभिव्यक्तिलाई लिएर चौतर्फी औंला उठ्यो । प्रमुख प्रतिपक्षी, नागरिक समाज, सामाजिक सञ्जालमा उनलाई पदमुक्त गर्नुपर्ने ठूलो जनमत देखियो । तर यो मागप्रति सरकारको नेतृत्व गरिरहनुभएका शेरबहादुर देउवा, यादवले प्रतिनिधित्व गर्ने जनता समाजवादी पार्टी बेखबर देखिन्छन् । बंगलादेशमा एमबीबीएसमा पढ्ने छात्राको विषयमा दिएको अभिव्यक्तिले विवादमा तानिएपछि नैतिकताका आधारमा राजीनामा दिएका पूर्वमन्त्री शेरबहादुर तामाङ यस्तो स्थितिमा पद छोड्न सल्लाह दिनुहुन्छ ।

यस्तो सिलसिला पहिलो होइन । मधेश टुक्रिन सक्ने अभिव्यक्ति दिएकै कारण तात्कालिन बाबुराम भट्टराई नेतृत्व सरकारका रक्षामन्त्री शरदसिंह भण्डारीले मन्त्री पदबाट हात धुनुपरेको थियो । यौन दुव्र्यवहारको आरोपमा सभामुख पद गुमाउने कृष्णबहादुर महरादेखि धान रोपाइँमा महिलामाथि अभद्र व्यवहार गर्ने हरिप्रसाद पराजुलीसम्म नैतिक कारण देखाएर पदबाट अलग्गिए । सेक्युरिटी प्रेस खरिद प्रकरणमा कमिसनको आरोप लागेपछि गोकुल बाँस्कोटाले पनि मार्ग प्रशस्त गर्नुभयो । विवादमा आएपछि पद छोड्दा आफ्नो कद थप बढ्ने अनुभव संगालेका एमाले नेता तामाङ त्यागी बन्दा जनताले आममाफी दिने र राजनीतिक भविष्य समेत सुरक्षित हुने तर्क गर्नुहुन्छ ।

इतिहास हेर्ने हो भने नेपालमा चरम नैतिकवान नेताको खाँचो छैन । २०३० सालमा आफू प्रधानमन्त्री भएका बखत सिंहदरबार आगलागी भएपछि राजाले रोक्दारोक्दै पनि तात्कालन प्रधानमन्त्री कीतिनिधि विष्टले नैतिकताको आधारमा राजीनामा दिनुभएको थियो । हावाहुरी आएपछि खेल हेर्न दशरथ रंगशालामा भागदौड मच्चिदा नागरिकले ज्यान गुमाएपछि तात्कालिन शिक्षा तथा खेलकुदमन्त्री केशरबहादुर विष्टले पदबाट राजीनामा दिनुभएको थियो ।

भर्खरै मात्र नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीमा पराजित डा. मिनेन्द्र रिजालले मतगणना नसकिदै रक्षामन्त्रीबाट राजीनामा दिनुभएको थियो । यत्र, तत्र, सर्वत्र विरोध हुँदाहुँदै पदमा टाँसिने प्रवृत्तिले राजनीतिक गरिमा त बढ्दैन नै, त्यसमाथि लोकतान्त्रिक शासन पद्दतिलाई आफ्नो मार्गदर्शन मान्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको सरकारकै सदस्यको गैरजिम्मेवार अभिव्यक्ति लोकतन्त्रकै उपहास हो । यस्तो संवेदनशील विषयमा बेखबर रहने हो भने त्यसको नैतिक औंला देउवामाथि ठडिने निश्चित छ ।