१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उच्च रक्तचापको लागि किन योग आवश्यक छ ?


104
Shares

चन्द्र कटुवाल
रक्तचापको मापन मुटुले पम्प गरेको रगतको मात्रा र आर्टरिमा त्यसले दिएको दबाबको मात्रा मापन गरेर निकालिन्छ । मुटुले धेरै रगत पम्प गर्ने तर आर्टरि भने साधुरो हुने भएमा रक्तचाप उच्च हुन्छ । उच्च रक्तचाप धेरै रोगहरुको कारक मानिन्छ । उच्च रक्तचापलाई अग्रेजीमा ‘हाई ब्लड प्रेसर’ भनिन्छ ।

उच्च रक्तचापका कारणहरुमा तनाव, अत्यधिक मोटोपन, चुरोट, मादकपदार्थ सेवन तथा सूर्तिजन्य पदार्थको अधिकमात्रामा सेवन, अत्यधिक मात्रामा नुनको प्रयोग, योग तथा व्यायामको कमी, पोटासियम, म्याग्नेसियम तथा क्याल्सियमको कमी, उमेर तथा बंशाणुगत कारणहरु रहेका छन् ।

खासमा उच्चरक्तचापको ९० देखि ९५ प्रतिशत मुख्य कारण थाहा हुँदैन । मृगौलामा गडबढी, एडिर्नल ग्रन्थिमा ट्यूमर, रक्तसंचार नलीहरुमा गडबढी तथा दिर्घरोगहरुका कारण पनि उच्च रक्तचाप हुनसक्छ । उच्च रक्तचापमा टाउको झुम्म भएर पछाडि भागमा दुख्ने र तानेजस्तो हुने, शरीररमा भित्र भित्रै गर्मी भएजस्तो हुने, वान्ता आउन खोज्ने, थकाई लाग्ने, रिङ्गटा लाग्ने,छाती भारी हुने जस्ता लक्षणहरु देखा पर्छन् । खासमा भन्ने हो भने शरीरलाई क्षति पुर्‍याउने अवस्थामा पुगेमा मात्र लक्षण देखिन थाल्दछ । अर्थात बाहिर कुनै लक्षण नदेखिएपनि यसले भित्र –भित्र असर गरिरहेको हुन सक्दछ । त्यसैले यसको व्यवस्थापनमा ध्यान दिन अति जरुरी छ ।

शरीरमा सिस्टोलिक प्रेसर १२० र डाइस्टोलिक प्रेसर ८० भन्दा बढी भए रक्तचाप बढेको मान्ने गरिन्छ । उच्च रक्त चापले पक्षघात, हृदयघात, आँखा कमजोर हुने, मृगौलामा क्षति पुर्‍याउने, मस्तिष्कघात जस्ता समस्याहरु निम्त्याउँछ । यसको नियन्त्रणका लागि बेलैमा ध्यान दिन जरुरी छ ।

शरीरमा उच्च रक्तचाप व्यवस्थापनको लागि जीवनशैली र खानपानमा परिवर्तन गर्नु मुख्य कुरा हो, भने यसका अन्यकारणहरुको रोकथाम गर्नु पर्दछ । खानपान तथा जीवनशैलीमा परिवर्तनले यसको रोकथाप गर्न सकिन्छ । यसको रोकथामको लागि योग अति प्रभावकारी मानिन्छ । योग केवल शारीरिक मात्र नभएर मानसिक आत्ध्यात्मिक तथा आत्मिक सबै कुराको सर्बाङ्गिण प्याकेज हो । यसमा अभ्यास देखि लिएर योगिक परामर्श सम्म पर्दछ ।

उच्चरक्तचापको व्यवस्थापनको लागि निम्न एकीकृत योग अभ्यास गर्न सकिन्छ :

क) श्वास प्रश्वास मार्फत उच्च रक्तचाप घटाउन गरिने अभ्यास
१. श्वास प्रश्वासको साथमा हातलाई मुठ्ठी पारेर बाहिर भित्र घुमाउने । यसको लागि हातलाई बराबर अगाडि राख्न पनि सकिन्छ र कुमको लाईनमा लगेर दुबै हातलाई दायाँ बायाँ फैलाएर पनि गर्न सकिन्छ । ध्यानदिनु पर्ने कुरा के छ भने जहिले पनि शरीर खुम्चिदा श्वास छोड्ने तथा शरीर तन्किदा श्वास लिने गर्नु पर्दछ ।
२. टाईगर ब्रेथिङ : यसमा पहिले घुडा र दुबै हात भुईमा टेक्ने । स्वास भर्दै टाउकोलाई माथि तर्फ लैजाने र स्वास छोड्दै तलतर्फ दुबैहातको बिचमा लैजाने । यस्तै गरेर ५ देखि १० पटक सम्म गर्ने ।
३. खुट्टाको एङ्कल घुमाउने : यसमा दुबै खुट्टालाई भूईमा सिधा पार्ने । दुबै खुट्टाको पैताला घुमाउने । दायाबाट घुमाउने साथमा स्वास प्रस्वासको पनि ध्यान दिने । यसै गरि छ पटक सम्म दायातर्फ बाट घुमाईसके पछि पुन छ पटक बाँया तर्फ बाट पनि घुमाउने।
४. त्रिकोणासन ब्रेथिङ : त्रिकोणासनमा बस्ने र दायाँ बायाँ झुक्दा स्वास प्रस्वासको साथमा गर्ने ।
५. सेतुबन्धाशन ब्रेथिङ : पहिले ढाडको बलले सुत्ने । त्यसपछि दुबै गोडा खुम्चाउने र हिप नजिक राख्ने । ढाडलाई माथि उठाउने काँध र खुट्टाको बलले ढाडलाई माथि उठाउने । सकेसम्म दुबै हातले दुबै खुट्टा समात्ने र पुल जस्तै बन्ने । यदि समात्न सकिएन भने खुट्टा तर्फ नजिक – नजिक राख्ने यसरी ढाड माथि उठाउँदा श्वास भर्ने र ढाड तल जमिन तर्फ बिश्राममा लिदा स्वास छोड्ने । यसरी बिस्तारै बिस्तारै गर्ने । पाँच देखि १० पटक सम्म गर्न सकिन्छ ।
ख) शरीरलाई शिथिलिकरण गर्ने अभ्यास
१. काँधलाई घुमाउने : आरामका साथ बस्ने, दुबै हातलाई तल तर्फ छोडिदिने । दुबै काँधलाई पछाडिबाट माथितर्फ उठाउने र अगाडि तर्फबाट तल झार्ने । यसलाई ६ पटक गर्ने । पुनः यसको बिपरित गर्ने त्यो पनि ६ पटक ।
२. खुट्टालाई घुमाउने : यसमा खुट्टालाई दायाँ बाया घुमाउने ।
३. ड्रिल गर्दै हिड्ने अर्थात ड्रिल वाकिङ : यसमा परेड खेले जस्तै लाईनमा उभिने र हात तथा गोडा दुबै चाल्दै अगाडि बढ्ने ।
ग) आशनहरु
उच्च रक्तचापका बिरामीहरुले तीब्ररुपमा आशनहरु गर्नु हुदैन । एक आशनपछि आराम गर्दै अर्को आशन गर्न राम्रो मानिन्छ । यसमा पनि विभिन्न आशनहरु छन् ।
१. उठेर गरिने आशनहरु: जस्तै अर्धकटिचक्राशन, कटिचक्राशन, त्रिकोणाशन गरुढाशन आदि ।
२. बसेर गरिने आशनहरुः जस्तै बक्राशन, अर्धमत्स्यन्द्राशन, गौमुखाशन, बालाशन, सुखाशन आदि ।
३. पेटको बलले अर्थात घोप्टो परेर गरिने आशनहरुः भुजङ्गाशन, र यसका भेरियशन, आदि ।
४. उत्तानो परेर अर्थात ढाडको बलले गरिने आशनहरुः मत्स्याशन, सेतुबन्धाशन र सवाशन आदि ।
यसको साथै मोटोपन घटाउनमा लाभदायी मानिएका केहि प्राणायामहरु निम्न रहेका छन ।
१. चन्द्र अनुलोमविलोम : यसमा बाँया नाखबाट स्वास लिने र दायाँ बाट बाहिर फाल्ने गर्ने ।
२. नाडिसुद्दि : बाँया नाक बाट स्वास लिने दुबै नाकको प्वाल बन्न गर्ने र भित्र रोक्ने । फेरी दायाँ बाट स्वास बाहिर फ्याक्ने । पुन दायाँबाट भर्ने र भित्र रोक्ने फेरी बाँयाबाट फाल्ने । यसै गरि पाँच मिनेट जति गर्ने ।
३. सित्ली : जिब्रो लाई पानी भर्ने पदालो जस्तो बनाउने । अर्थात चेप्टो पार्ने त्यसैबाट हावा भित्र लिने । त्यो हावा चिसो हुन्छ । त्यसलाई निल्ने । फेरी त्यसै गरि लिने निल्ने ।
४. सित्कारी : कसै कसैको जिब्रो चेप्टो पार्न सकिदैन । तिनिहरुले जिब्रो भित्रै राखेर दुबै दात बन्द गर्ने । दाँतको छिद्रबाट हावा भित्र तान्ने । त्यो चिसो हावालाई निल्ने । यि सित्ली र सित्कारी शरीरलाई कुलिङ गर्ने अर्थात चिसो पार्ने प्राणायाम हुन । यि निमोनिया भएका तथा चिसो मौसममा गर्नु हुदैन । गर्मीमा भने यसलाई धेरै नै गरिन्छ ।