१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जनसंख्या भन्दा भूकम्पपीडित धेरै


2.301k
Shares

रसुवा । राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजामा देखिएका भन्दा रसुवामा बढी परिवारले भूकम्पपीडितका रुपमा सरकारबाट अनुदान लिएको पाइएको छ ।

प्रारम्भिक जनगणनाको नतिजा अनुसार प्राधिकरणले अनुदान दिन सम्झौता गरेको भन्दा नौ सय पैतालीस घर कम देखिएको हो ।

परिवारको संख्यालाई आधार मान्दा पनि चार सय छैसट्टी परिवार कम देखिएको छ ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार ११ हजार ३ सय ६२ घरमा ११ हजार ८ सय ४१ परिवार बसोबास गरेका छन । तर, त्यो भन्दा बढी परिवारले भूकम्पपीडितका रुपमा सरकारी अनुदान लिइसकेका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्यांक अनुसार, जिल्लामा १२ हजार ३ सय ७ परिवार भूकम्प पीडित छन् । उनीहरुलाई प्राधिकरणले सम्झौता अनुसारको रकम समेत उपलब्ध गराई सकेको छ ।

जनगणनामा आएको परिवार संख्या र प्राधिकरणले सहयोग गर्न सम्झौता गरेका परिवारको संख्या गोसाइकुण्ड गाउँपालिका बाहेक अन्य चार वटा स्थानीय तहमा फरक फरक देखिएको छ ।