
प्रदीप पौडेल (इमेज)
पोखरा, असार १ । प्रदेश नम्बर–४ को सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि २४ अर्ब २ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
शुक्रबार प्रदेशसभा बैठकमा प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बजेट प्रस्तुत् गरेका हुन् ।
जसमध्ये चालूतर्फ ६ अर्ब ९१ करोड र पुँजीगततर्फ १५ अर्ब ९० करोड तथा वित्तीय हस्तान्तरणका लागि १ अर्ब २० करोड रुपैयाँ छ ।
प्रतिशतका आधारमा चालू खर्च पूरा बजेटको २९ प्रतिशत छ भने पुँजीगत ६६ प्रतिशत र वित्तीय हस्तान्तरणमा ५ प्रतिशत छ ।
प्रदेश सरकारले भौतिक पूर्वाधारलाई जोड दिएर बजेट ल्याएको छ । त्यसमा पनि सडक सञ्जालमा सरकारको ध्यानकेन्द्रित छ ।
प्रदेश गौरवका आयोजनाकारुपमा कोरला–पोखरा र पोखरा–सुस्ता सडकको डीपीआर तयार गरी स्तरोन्नति थाल्न बजेट विनियोजन भएको छ ।
यस्तै, देवघाटदेखि पुट्टार हुँदै केलादीघाट–चापाकोट–राम्दी–सेतिवेणीबाट बेनी जोड्ने सडकका लागि डीपीआर तयार गर्न २ करोड रुपैयाँ छुट्याइएको छ ।
हरेक स्थानीय तहलाई प्रदेश राजधानी जोड्ने सडक स्तरोन्नति गर्न २ अर्ब ६ करोड, एक निर्वाचन क्षेत्र एक स्तरीय सडक कार्यक्रमका लागि हरेक निर्वाचन क्षेत्रमा २ करोड १० लाखका दरले ७५ करोड ६० लाख, सडक सञ्जालमा नजोडिएका क्षेत्रलाई सडकमा जोड्ने पुल निर्माणका लागि ५१ करोड ८५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
यस्तै, अन्तराष्ट्रिय सम्मेलन केन्द्रको अध्ययन गर्न र निर्माण थाल्न १ करोड, फेवाताल संरक्षण र विकासका लागि ८ करोड, ३० गाउँपालिका केन्द्रमा सभाकक्ष निर्माण गर्न १० करोड ५० लाख, विद्युतीकरण गर्न ३८ करोड, काठेपोल विस्थापन गरी फलामेपोल राख्नका लागि ५ करोड, प्रदेशको पर्यटन क्षेत्रको गुरुयोजना बनाउन १ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
यस्तै, लगानी सम्मेलन आयोजन गर्न १ करोड, मुस्ताङ, मनाङ र चुमनुव्रीमा फिल्म सुटिङ स्पट बनाउन १ करोड ५० लाख, मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ स्थापना गर्न १० करोड ८० लाख, एक स्थानीय तह एक शीतभन्डार निर्माण गर्न एकमुस्ट २६ करोड ५० लाख विनियोजन गरिएको छ ।
एक स्थानीय तह एक औद्योगिक क्षेत्र स्थापनामा १२ करोड, पोखरा औद्योगिक क्षेत्रको विकास गर्न २ करोड, लघु उद्यम विकास कार्यक्रममा ३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
प्रदेशको विश्वविद्यालय स्थापना गर्न १ करोड, राजमार्गमा मोबाइल अस्पताल निर्माण गर्न १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्