
काठमाडौं । नेकपा (एमाले)का सांसद भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमाथि कारबाहीको माग गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा एमसीसी पारित गर्ने भनेर लेखेकोे पत्रबारे संसदीय समितिले छानविन गर्नुपर्ने भन्दै रावलले देउवा र दाहालको पत्रले नेपालको कूटनीति कमजोर बनाएको जिकिर गर्नुभयो ।
प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त रूपमा लेखेको पत्र अन्तर्राष्ट्रिय सम्बन्ध समितिको विषय बन्नुपर्ने उहाँको तर्क छ ।
‘एमसीसी सम्झौताको सम्बन्धमा नेपाली जनतालाई जानकारी गराउनका लागि सरकारी स्रोत उपयोग गर्नेछौं,’ भनेर लेखेपछि नेपालको कूटनीतिक सम्बन्ध कता गयो भन्दै कूटनीतिमा यस्ता गतिविधिले राष्ट्रको स्वाभिमान झुक्ने काम भएको रावलको जिकिर छ ।
रावलले अरु देशमा यस्तो भयो भने छानविनमात्रै होइन दण्डित हुने भन्दै उहाँले प्रतिनिधिसभामा विचाराधीन सम्झौतामा यस्तो र उस्तो गर्छौं भनेर पत्र लेख्ने अधिकार कुनै नेतामा नभएको भन्दै रावलले छानविन गरेर कारबाही गर्नुपर्ने दोहोर्याउनुभयो ।
देउवा र दाहालले एमसीसीलाई लेखेको पत्र नेपालको कूटनीति कसरी चलेको छ भन्ने कुराको ज्वलन्त नमूना भएको उहाँको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्